नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण अन्तिम चरणमा पुगेको वेला रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा लाइसेन्स प्रक्रिया रोकिएको हो। बिहीबार साँझ कानुनसचिव धनराज ज्ञवाली, धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र अर्थ मन्त्रालयका पदाधिकारीसहितलाई बोलाएर तत्काललाई लाइसेन्स रोक्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कानुनसचिव धनराज ज्ञवालीले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले साँझ बोलाएर अहिलेलाई रोकौँ र विशेष अध्ययन गरेर अघि बढौँला भन्नुभएको छ ।’
धितोपत्र बोर्डका अनुसार लाइसेन्स प्रक्रिया रोकिएको पत्र अर्थ मन्त्रालयबाट बोर्डमा आउन बाँकी रहेको छ ।पछिल्लो समय संसदमा सांसदहरूले नयाँ स्टक एक्सचेन्जमा ९ देखि १० अर्ब रुपैयाँको भ्रष्टाचार भएको भन्दै आवाज उठाउँदै आएका थिए । संसदमा तीव्र विरोध भएपछि सरकार पछि हटेको हो। पाँच महिनाअघि पनि स्टक एक्सचेन्जका लागि गैरकानुनी रूपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले स्टक एक्सचेन्ज खोल्ने बाटो खुला गरिदिएसँगै प्रक्रिया अगाडि बढेको थियो। सर्वोच्चले बाटो खोलिदिएसँगै बोर्डले चैत ३१ गते १० दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको थियो।
बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको थियो । लाइसेन्स वितरणका लागि बोर्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो। मूल्यांकन समितिले मूल्यांकनको अंक र अंकभार दिन सुरु गरेसँगै यो निर्णयले लाइसेन्स प्रक्रिया तत्काललाई पछि हटेको छ ।