पण्डितजीको आदर्श

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

पण्डित मदनमोहन मालवीयले जतिखेर कलेजको शिक्षा पूरा गरे, त्यतिखेर उनको आर्थिक स्थिति धेरै खराब थियो । उनले तुरुन्त अध्यापकको नोकरी सुरु गर्नुपर्यो । त्यसबाट उनले निकै कम तलब सुविधा पाउँथे । पछि आफ्नो प्रतिभा, योग्यता र विद्वताले उनले धेरै प्रसिद्धि कमाए । राजा रामपाल सिंहले पनि उनका विषयमा धेरै कुरा सुनेका थिए । त्यति वेला उनले हिन्दुस्तान नामक समाचारपत्र प्रकाशन सुरु गरेका थिए, जसका लागि उनलाई एउटा सुयोग्य सम्पादक चाहिएको थियो । 

सिंहले मालवीयलाई बोलाए र सोधे, के उनी समाचारपत्रको सम्पादक बन्न चाहन्छन् ? साथै उनले मालवीयजीको अगाडि २५० रुपैया“ मासिक तलब दिने प्रस्ताव पनि राखे र उनीसँग प्रार्थना गरे कि उनले सो प्रस्ताव अस्वीकार नगरून् । 

अध्यापनबाट मालवीयले थोरै तलब पाउँथे । यसैले उनको प्रस्ताव स्वीकार गरे । तर, एउटा समस्या थियो कि राजासाहेब रक्सी सेवन गर्थे भने मालवीयलाई रक्सीसँग घृणा थियो । उनले भने, ‘म सम्पादन कार्य अवश्य गर्नेछु । तर, मेरो एउटा सर्त छ ।’ ‘म तपाईंका हरेक सर्त मान्न तयार छु,’ राजासाहेबले भने । यो सुनेर मालवीयजीले भने, ‘जब तपाईं नशामा हुनुहुनेछ, कृपया तब म भएको ठाउँमा नआउनुस् ।’ राजासाहेबले मुस्कुराएर ‘हुन्छ’ भने । 

यसपछि मालवीय सम्पादन कार्य सुरु गरे । तर एक दिन राजासाहेबले नशामा आफ्नो वचन भुले र मालवीयजीको कार्यकक्षमा पुगे । नशामा उनलाई देख्नासाथ मालवीयजीले तत्काल राजीनामा दिए । जब राजाको नशा उत्रियो, तब उनलाई धेरै ग्लानि भयो । उनले मालवीयजीसँग क्षमायाचना गरे, तर मालवीयजीले भने, ‘म क्षमाभन्दा धेरै आफ्नो आदर्शलाई मान्छु । म अब तपाईंकोमा काम गर्न सक्दिनँ ।’ राजासाहेबले त्यो दिनदेखि रक्सी खान छोडे र मालवीयलाई वकालत पढ्नका लागि २५० मासिक छात्रवृत्ति दिइरहे ।

सुझावित समाचार