रेसुंगामा सुरु भएको धार्मिक महोत्सवको करिब आठ हजार धर्मावलम्बीहरूले अवलोकन गरेका छन्। महोत्सवको छैठौँ दिनसम्म आठ हजार धर्मावलम्बी रेसुंगा पुगेका आयोजक रेसुंगा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिए।
गुल्मीसहित अर्घाखाँची, प्युठान, बाग्लुङ, पाल्पा, रुपन्देही र काठमाडौंबाट मेला दर्शन गर्नेहरू रेसुंगा पुगेका छन्। पछिल्ला दिनहरूमा रेसुंगा पुग्नेहरूको संख्या बढिरहेको छ। दैनिक संरक्षण समितिले रेसुंगा प्रवेशद्वार खानीगाउँ चौडाहबाट निःशुल्क बस सेवा सुरु गरेको छ।
अहिलेसम्म तीन लाख बढी भेटी संकलन भएको पन्थीले बताए। अयोध्यादेखि रेसुंगासम्मको सम्बन्ध विस्तारका लागि २३ वैशाखबाट श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन मेला सुरु भएको छ।
मेलाको विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले उद्घाटन गरेका थिए। धार्मिक महोत्सव तथा सन्त सम्मेलन ३१ वैशाखसम्म सञ्चालन हुनेछ।