कुनै समय लालबहादुर शास्त्री भारतका रेलमन्त्री थिए । मन्त्री भएर पनि उनको रहनसहन बिल्कुलै सामान्य थियो । उनी आफू पनि नियमको कडाइसाथ पालना गर्थे भने अरूबाट त्यस्तै अपेक्षा राख्थे । एकपटक शास्त्रीले वनारसबाट रेल चढ्नु थियो । तर, लाखौँ कोसिस गरेर पनि उनी समयमै स्टेसन पुग्न सकेनन् ।
रेलले अघि बढ्ने संकेत पाइसकेको थियो । तर, जब गार्डले रेलमन्त्री स्वयं स्टेसन आइपुग्दै छन् भन्ने थाहा पाए, तब उनले हरियो झन्डा झुकाएर रातो झन्डा उठाए । रेल रोकियो । उता यात्रीहरू हैरान थिए । अघि बढ्ने संकेत पाइसकेर पनि किन रेल चलेन ? उनीहरू अचम्ममा परिरहेका थिए । थोरै समयमै शास्त्री स्टेसनमा पुगे र उनी आफ्नो क्याबिनतिर लम्किए । उनलाई देखेर तिनै गार्ड, जसले रेल रोकिदिएका थिए, उनी दौडीदौडी आए । उनले मन्त्रीसित भने– मन्त्रीज्यू, हजुर आउँदै हुनुहुन्छ भन्ने सुनेपछि मैले रेललाई रोकिदिएँ ।
गार्डको कुरा सुनेपछि यसो गार्डतिर हेरेर शास्त्री केही नबोली अघि बढे । गार्ड निकै खुसी भए । उनलाई आफ्नो कार्यबाट मन्त्री निकै खुसी भए भन्ने लाग्यो । सायद यही खुसियालीमा उनले आफ्नो पदोन्नति गरिदिनेमा उनी आशावादी भए । तर, दोस्रो दिन उनले एउटा पत्र पाए, जसमा लेखिएको थियो– आफ्नो ड्युटी ठिक ढंगले नगरेको हुनाले तपाईंलाई पदमुक्त गरिएको छ ।
शास्त्री नियम उल्लंघन सहन गर्न सक्दैनथे । ठूलाभन्दा ठूला पदमा आसीन व्यक्तिले पनि नियमलाई कडाइसाथ पालना गर्नुपर्छ भन्ने उनको मान्यता थियो । रेलका सयौँ यात्रीलाई त्यसरी विनाकारण कुराइएको विषय उनका लागि कुनै हालतमा स्वीकार्य थिएन । त्यसैले उनले गार्डलाई पदमुक्त गराएका थिए ।