अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालू पुँजी खर्च गर्ने कुराको अन्त्य गर्ने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताए। उनले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्न सके विदेशी लगानी विस्तार हुने भन्दै विदेशी लगानीहरू पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए। उनले वैदेशिक लगानीका सीमाहरू फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए। उनले अर्थतन्त्रलाई चलायमान नबनाई वैदेशिक सहायता नआउने बताए। उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए।
अर्थमन्त्री महतले आफ्नो पूरा कोसिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरू खोल्नु रहेको बताए। उनले संसदमा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकैपटक गर्दा अप्ठ्यारो हुने बताए।
संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए।
सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताएका हुन्। अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए।