टुकुचा खोलाको लगत कट्टा गर्न भूमि मन्त्रालयलाई पत्र

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

उच्च अदालत पटनको आदेशसँगै टुकुचा खोलाआसपासमा रहेका जग्गाको लगत कट्टा गर्न काठमाडौं महानगरले भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ । टुकुचा क्षेत्रमा रहेका व्यक्तिका जग्गाको लगत कट्टा गरेपछि मात्रै खुला गर्न सकिने भन्दै महानगरले सोमबार मन्त्रालयलाई पत्र पठाएको हो । 

महानगरका अनुसार जग्गाको लगत कट्टा गरिदिने कार्य मन्त्रालयको हो । त्यसपछि खोला क्षेत्रमा बनेका संरचना हटाउने र खोला खुला महानगरले गर्नेछ । हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाब क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्नुपर्ने महानगरको पत्रमा उल्लेख छ । ‘सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, ०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ,’ महानगरले भनेको छ, ‘मालपोत ऐन, ०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी र सार्वजनिक जग्गा मानेको छ ।’ 

सोही ऐनको दफा २४ (२) ले सरकारी सार्वजनिक जग्गा व्यक्तिविशेषका नाममा दर्ता हुन गएमा त्यस्तो दर्ता स्वतः बदर हुने र  सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था छ । सो कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिका वडा नम्बर १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्तिविशेषका नाममा दर्ता कायम रहन गएको अवस्था पत्रमार्फत जानकारी गराएको हो । मन्त्रिपरिषद्को १ मंसिर ०६५ को निर्णयले कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न बन्देज लगाएको छ ।

सुझावित समाचार