काठमाडौं उपत्यकामा दुई सय २० केभीको रिङ प्रसारण लाइन बनाइने

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा दुई सय २० केभी क्षमताको रिङ प्रसारण लाइन बनाउने भएको छ । उपत्यकामा विद्युत् आपूर्तिलाई सहज गर्ने उद्देश्यसहित बनाउन लागेको रिङ प्रसारण लाइनको प्राधिकरणले सर्वेक्षण गरिरहेको छ । त्रिशूली–३ बी हब, मातातीर्थ, डुकुछाप, सिरुटार, नाला गुम्बा, लप्सेफेदी, कपन गुम्बा र तीनपिप्ले जोडेर रिङ प्रसारण लाइन बनाइने अध्ययन भइरहेको छ ।

यस्तै, प्राधिकरणले काठमाडौं उपत्यकामा उच्च क्षमताका आठवटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा चार सय, दुई सय र एक सय ३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् । हाल उपत्यकामा विद्युत्को माग तीन सय ५० मेगावाट हाराहारी छ । तर, सन् २०५० सम्ममा उपत्यकाको विद्युत्को उच्च माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ । त्यसलाई आवश्यक पर्ने पूर्वाधार बनाउने क्रममा प्राधिकरणले रिङ प्रसारण लाइन, सबस्टेसन निर्माणको काम अघि बढाएको हो । काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ । 

प्राधिकरणका अनुसार उपत्यकामा थप २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ  । हाल काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेसन निर्माणाधीन छन् । टेकु र चाँगुनारायण सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेसन आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गरिने बताए । ‘यस वर्षको जाडोमा काठमाडौं उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले विद्युत् आपूर्ति व्यवस्थापन सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडि नै सबस्टेसनको निर्माण सक्नुपर्छ,’ घिसिङले भने, ‘टेकु र फुटुङ सबस्टेसन निर्माण सम्पन्न भएपछि काठमाडौंको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।’ 

सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर एक सय ३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बङमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर रहनेछन् । सुक्खा बन्दरगाहनजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म एक सय ३२ केभी प्रसारण लाइन बनिसकेको छ । 

सुझावित समाचार