मुगुको च्यार्खु लेकमा हिउँ पहिराेमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी– २ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।
यार्सा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीनजनाको मृत्यु भएको छ । अन्य सामान्य घाइते भएका छन् । दुईजना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।
शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । मृत्यु भएका तीनजनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेका थिए ।