नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी मुछिएपछि एमाले अध्यक्ष केपी ओलीले दोस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मुद्दामा भइरहेको अनुसन्धानबारे चासो राखेका छन् । यस विषयमा बिहीबार पहिलोपटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका ओलीले शनिबार पनि भेटेर चासो राखेका हुन् ।
सांसदसमेत रहेका रायमाझीविरुद्ध प्रहरीले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । अर्घाखाँचीमा रहेका रायमाझी ‘काठमाडौं जान्छु’ भनेर हिँडे पनि बिहीबारदेखि ‘भूमिगत’ छन् । उनका छोरा सन्दीपसहितका केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ । एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाको संलग्नताबारे समेत अनुसन्धान भइरहेको बताइएको छ । थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परिसकेका छन् । त्यस्तै, गृह मन्त्रालयकै सहयोगमा भएको ठगी धन्दामा संलग्न सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् ।
शनिबार भएको करिब दुई घन्टा लामो भेटमा ओलीले अनुसन्धानबारे चासो राखेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग भने, ‘अस्ति (बिहीबार)को भेटमा पनि उहाँ (ओली)को यही विषय (नक्कली भुटानी शरणार्थी प्रकरण)मा चासो थियो । आज पनि उहाँले यही विषयमा कन्सर्न राख्नुभयो, मैले जनरल कुरा भनेको छु ।’
प्रचण्डले दोषी कोही नछुटून् र निर्दोष कोही नपरून् भन्ने मान्यतामा अगाडि बढेको बताएका छन् । ‘प्रक्रिया, पद्धति र ऐनअनुसार दृढताको साथ अगाडि जान्छ । दोषी कोही नछुटून्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट बोल्ड्ली अगाडि बढिन्छ,’ उनले भने ।
टोपबहादुर रायमाझी, रामबहादुर थापालाई बचाऔँ भन्ने ओलीको चाहना हो ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले अगाडि भने, ‘त्यस्तो बचाउन भनेर त उहाँले भन्न सक्ने कुरा भएन नि ! प्रधानमन्त्रीसँग कुरा गर्न आउँदा बचाउँ भनेर त कसैले पनि सक्दैन नि ! म दबाबमा पर्दिनँ ।’
भेटपछि ओलीले पनि पत्रकारका प्रश्नमा सटीक जवाफ दिएका छन् । अस्ति पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो । कहाँ हुनुहुन्छ उहाँ ? भन्ने प्रश्नमा ओलीलेको जवाफ थियो, ‘तपाईंहरूले खोज्नूस् न !’
ओलीले रायमाझी आफ्नो सम्पर्कमा नभएको दाबी गरे । तपाईं अभियुक्तलाई जोगाउन लागिरहनुभएको भन्ने छ नि भन्ने प्रश्नमा ओलीले भने, ‘तपाईंहरूलाई विश्वास लाग्यो ? केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’