हामी यस्तो संसारमा बाँचिरहेका छौँ, जहाँ भूराजनीतिक स्थिरता धेरै हदसम्म निरोध (डिटरेन्स)मा निर्भर गर्छ । तर, निरोधले काम गर्छ भनेर कसरी प्रमाणित गर्ने ? युरोपमा जारी युद्धलाई नै हेराैँ । सन् २०२१ को डिसेम्बरको सुरुताका अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गरे रुसले कडा नयाँ प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । तर, त्यसले काम गरेन । त्यसपछि, संयुक्त राज्य अमेरिका र उसका युरोपेली सहयोगीले युक्रेनलाई हतियार उपलब्ध गराएर रुसको योजनालाई विफल बनाउन खोज्दा पुटिनले आणविक हतियार प्रयोगको धम्की प्रयोग गरे । तर, युक्रेनलाई पश्चिमाहरूको हतियार सहयोग जारी रह्यो ।
युक्रेन युद्धले जोखिम न्यूनीकरण सुनिश्चितता होइन, केवल डिग्रीको कुरा हो भन्ने देखाउँछ । सम्भवतः पुटिनले कमजोर पश्चिमी गठबन्धनको मध्यनजर प्रतिबन्धहरू असफल हुने विश्वास गरेका थिए । तर पनि उनले अहिलेसम्म नेटो देशहरूमा आपूर्ति लाइन बन्द गर्न सकेका छैनन् । पुटिनको आणविक आक्रमणको धम्कीका बाबजुद पश्चिमा मुलुकले युक्रेनलाई हतियार उपलब्ध गराइरहेकै छन् । तथापि उनीहरू पनि युक्रनेलाई लामो दूरीका क्षेप्यास्त्र प्रणाली एवं आधुनिक युद्धक विमान उपलब्ध गराउन भने आनाकानी गरिरहेका छन् ।
निरोधले काम गर्न त्यसको विश्वसनीयता हुनुपर्छ । सानो हितको रक्षा गर्न अधिकतम प्रतिक्रियाको धम्कीले विश्वसनीयतालाई घटाउँछ । जब कुनै आणविक शक्तिले टाढाको देशको रक्षा गर्न आफ्नो सुरक्षा छाता फैलाउने वचन दिन्छ, तब यो विशेषगरी साँचो हुन्छ । शीतयुद्धको समयमा अमेरिकाले पश्चिम युरोप र सोभियत संघले पूर्वी युरोपमा
आ–आफ्ना आणविक निरोध (डिटरेन्स)लाई विश्वसनीय रूपमा विस्तार गरेका थिए ।
पश्चिम जर्मनीको रक्षाका खातिर अमेरिकाले न्युयोर्कलाई खतरामा पार्ला भन्नेमा केही विश्लेषकलाई शंका थियो, तर त्यहाँ अमेरिकी सैनिकको तैनाथीका कारण निरोधको उपायले काम गर्यो । हुन त तथाकथित बर्लिन ब्रिगेड सोभियत आक्रमणको प्रतिवाद गर्न सक्ने आकारको भन्दा धेरै सानो थियो र पनि यसले यो सहरमा आणविक हमला गरे अमेरिकी सेनाको हताहती हुनेछ भन्ने कुराको सुनिश्चितता गर्यो र रुसलाई हच्कायो । (आणविक एवं परम्परागत दुवैखाले अमेरिकी सेनाको युरोपमा रहेको उपस्थिति सन् १९५६ मा हंगेरी एवं सन् १९६८ मा चेकोस्लोभाकियामाथिको सोभियत संघको सैन्य हस्तक्षेप रोक्न सफल निरोध प्रमाणित भएन ।)
शीतयुद्धको समयमा अमेरिकाले पश्चिम युरोप र सोभियत संघले पूर्वी युरोपमा आ–आफ्ना आणविक निरोध (डिटरेन्स)लाई विश्वसनीय रूपमा विस्तार गरेका थिए ।
यो इतिहास कोरियाको वर्तमान परिस्थितिसँग मिल्दोजुल्दो र सान्दर्भिक छ । उत्तर कोरियासँग आणविक हतियार छ भने दक्षिण कोरिया अप्रसार सन्धिमा बाँधिएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढी नागरिक देशले आफ्नै आणविक शस्त्रागार विकास गर्नुपर्ने पक्षमा छन् । तर, गत अप्रिलमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले बाइडनेलाई भेट्दा अमेरिकाले कोरियाली प्रायद्वीपनजिकै आणविक हतियारले लेस पनडुब्बी तैनाथ गर्न र शीतयुद्धको समयमा नेटो सदस्य राष्ट्रहरूमा जस्तै दक्षिण कोरियासँगको संलग्नतालाई गहन बनाउन सहमति गरे ।
बर्लिनमा जस्तै दक्षिण कोरियामा अमेरिकाले विस्तार गरेको निरोधको विश्वसनीयतालाई यहाँको २८ हजार ५०० अमेरिकी सेनाको उपस्थितिले सुदृढ बनाएको छ । अमेरिकी सेनामाथि आक्रमण नगरी उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गर्न नसक्ने भएकाले यी दुई देश परिस्थितिका मित्र हुन पुगेका छन् । जापानका आधार शिविरहरूले पनि यस्तै डिटरेन्सको सुनिश्चितता गरेको छ । यसर्थ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र दक्षिण कोरियाजस्ता स्थानबाट सेना फिर्ता गर्न बारम्बार जोड लगाउनु एकदमै हानिकारक थियो ।
चीनले आफ्नो भूमि मान्ने ताइवानको मामलाले पनि बदलिँदो परिस्थितिले प्रयास र साँचो प्रतिरोधका रणनीतिको कसरी परीक्षण गर्न सक्छ भन्ने देखाउँछ । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र अध्यक्ष माओले अमेरिका र चीनबीच सम्बन्ध पुनस्र्थापनाका लागि भेट गर्दा ताइवानको हैसियतबारे कुरै गरेनन् । अन्ततः दुवै पक्षले यो मामिलालाई स्थगन गर्ने एक सूत्रको डिजाइन गरे– संयुक्त राज्य अमेरिकाले ‘एक चीन’ अर्थात् जनगणतन्त्रलाई मान्यता दिने अनि ताइवान जलडमरुका दुवैतर्फका मानिस चिनियाँ भएको स्वीकार गर्ने । अमेरिकाले ताइवान रिलेसन एक्टअनुसार ताइवानलाई हतियार उपलब्ध गराए पनि उसलाई एक सार्वभौम मुलुकका रूपमा मान्यता भने दिएको छैन ।
धेरै वर्षसम्म अमेरिकाले ताइवानको रक्षा गर्छ कि गर्दैन भन्नेबारे बोल्न अस्वीकार गरिरह्यो । क्लिन्टन कार्यकालमा पेन्टागनको अधिकारीका हैसियतमा बेइजिङको भ्रमण गर्दा मलाई ताइवानलाई लिएर दुई मुलुक युद्धमा जालान् कि नजालान् भनेर सोधेका थिए । मैले प्रश्नकर्तालाई अमेरिकी विदेशमन्त्री डिन एचेसनले जनवरी १२, १९५० को सम्बोधनमा दक्षिण कोरियालाई अमेरिकाको रक्षा परिधिमा समावेश नगरे पनि अमेरिका त्यसको केवल ६ महिनापछि नै कोरियाली युद्धमा प्रवेश गरेको थियो भनेर संकेत गरेको थिएँ । त्यहाँ मैले डिटरेन्स सिद्धान्तका प्रतिपादक थोमस सेलिङको शब्द सापटी लिएर चिनियाँहरूलाई अमेरिकाको परीक्षण नगर्न चेतावनी दिएँ ।
यसलाई कतिपयले ‘रणनीतिक अस्पष्टता’को नीति भन्छन् तर त्यसलाई ‘डबल डिटेरेन्स’को रूपमा व्याख्या गर्नु अझ राम्रो हुन्छ । यो रणनीति चीनलाई ताइवानविरुद्ध बल प्रयोग गर्नबाट रोक्नका लागि मात्र होइन, ताइवानलाई स्वतन्त्रताको घोषणा गर्नबाट रोक्नका लागि पनि डिजाइन गरिएको हो । इतिहासले हामीलाई निरोधको सफलताको मूल्यांकन कठिन कार्य भएको सम्झाउँछ । इच्छित परिणाम हासिल गर्ने सवालमा विश्वसनीयताजस्ता केही पक्ष महत्वपूर्ण हुन्छन् । तर डिटरेन्सका द्विविधा बढ्दै जाँदा, यसका सीमाको अध्ययन यसले कसरी काम गर्न सक्छ भन्ने पत्ता लगाउन उत्तिकै महत्वपूर्ण हुनेछ ।
(अमेरिकाका पूर्वसहायक रक्षामन्त्री जोसेफ हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हुन् ।)प्रोजेक्ट सिन्डिकेट