किस्ता–किस्तामा भइरहेको सरकार विस्तारलाई कसरी हेर्नुभएको छ ?
यो अस्थिरताकै झलक हो । सायद आफ्नो भागमा परेको अढाई वर्षको अवधिसम्म पदमा टिक्न प्रधानमन्त्री रास्वपालाई पनि सरकारमा ल्याएर ढुक्क हुन चाहनुहुन्छ । त्यसैले, उहाँले सरकार विस्तारमा समय लिइरहनुभएको हुन सक्छ ।
अढाई वर्षे आयु पाएका प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिनै किन यति लामो समय लगाउनुभएको होला ?
समानुपातिक निर्वाचन प्रणाली भएका मुलुकमा निर्वाचअघि नै ‘राइट’ र ‘लेफ्ट’का अलग–अलग ‘अमे्रला अर्गनाइजेसन’ बन्ने गर्छन् । घोषणापत्रमा साझा नीति र कार्यक्रम समावेश गर्छन् । निर्वाचनमा जुन गठबन्धनले जित हासिल गर्छ, उसले सरकार बनाउँछ र अर्को गठबन्धन प्रतिपक्षमा बस्छ । गठबन्धनमा सामेल दलहरूले निर्वाचनपछिको आआफ्नो हैसियतअनुसार सरकारमा प्रतिनिधित्व गर्छन् । तर, हामीकहाँ त्यस्तो भएन । कुनै अम्रेला अर्गनाइजेसन पनि बनेन । नीति र कार्यक्रमका आधारमा नभई सत्तास्वार्थका आधारमा बनेको गठबन्धन हुनाले यो सरकार टिकाउनु नै प्रधानमन्त्रीको सबैभन्दा ठूलो चुनौती बनेको छ । सायद, त्यसैले पनि उहाँले समय लिनुभएको होला ।
किस्ता–किस्तामा विस्तार भइरहेको सरकारबाट डेलिभरीको चाहिँ कति अपेक्षा गर्न सकिएला ?
यस्तो अपेक्षा गर्न गाह्रो छ । रास्वपा सरकारमा आएमा नीति, कार्यक्रममा फेरबदल हुने चर्चा सुनिँदै छ । राजस्व कम उठेको र बाहिरबाट सहयोग पनि खासै आउने अवस्था छैन । त्यसैले, बजेटमा कटौती गर्ने कुरा सुन्नमा आएको छ । यस्तो अवस्थामा डेलिभरीको अपेक्षा कसरी पूरा होला र ?