बुद्ध र भक्तको सवाल–जवाफ

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

एकपटक रातको समयमा महात्मा बुद्धले प्रवचन दिइरहेका थिए । बुद्धको प्रवचन सुन्नका लागि त्यहाँ सयौँ मानिस उपस्थित थिए । बुद्धको प्रवचन चलिरहेको थियो । मानिसहरू उनको प्रवचन ध्यानपूर्वक सुनिरहेका थिए । श्रोताहरूको पंक्तिमा बीचमा बसेको एउटा मानिस बारम्बार निदाइरहेको थियो । उनी निदाएको महात्मा बुद्धले पनि देखे । त्यो देखेपछि महात्मा बुद्धले उनलाई बोलाएर सोधे, ‘वत्स, के तिमी सुतिरहेका छौ ?’

‘छैन महात्मा,’ बुद्धको प्रश्न सुनेपछि हत्तपत्त उठ्दै हड्बडाएर उसले भन्यो । ‘ए, त्यसो भए ठिक छ,’ मुसुक्क मुस्कुराउँदै बुद्धले आफ्नो प्रवचन सुरु गरे । बुद्धको प्रवचन चलिरह्यो । श्रोताहरू धैर्यपूर्वक उनको प्रवचन सुनिरहेका थिए । तर, आफू नसुतेको बताउने त्यो व्यक्ति भने पहिलेजसरी नै उँघिरहेको थियो । महात्मा बुद्धले बीचबीचमा त्यही प्रश्न सोध्दै उसलाई जगाउँदै गरे । ऊ भने ‘सुतेको छैन महात्मा’ भनेर फेरि सुतिहाल्थ्यो ।

प्रवचनको अन्त्यतिर पुगेपछि तिनै मानिसलाई बुद्धले फेरि सोधे, ‘वत्स, के तिमी जीवितै छौ ?’ ‘छैन महात्मा,’ हरेक पटकझैँ यसपटक पनि उसले बुद्धलाई जवाफ दियो । उसको जवाफ सुनेर श्रोताहरूमा हाँसोको लहर दौडियो । उनीहरू मुख छोपीछोपी हाँस्न थाले । 

उसको जवाफ सुनेपछि महात्मा बुद्ध पनि मुस्कुराए । केही छिनपछि फेरि गम्भीर भएर महात्मा बुद्धले भने, ‘वत्स, निद्रामै भए पनि तिमीले एकदम सही जवाफ दियौ । जो निद्रामा हुन्छ, ऊ मृतकसमान नै हुन्छ ।’
 

सुझावित समाचार