भुटानी शरणार्थीको परिचयमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले सिंहदरबार वृत्तको हिरासतमा राखेको छ।
जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद दिएपछि प्रहरीले उनकै रोजाइअनुसार सिंहदरबार हिरासतमा राखेको हो।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि बुधबार बिहान सचिव पाण्डे आफैँ जिल्ला प्रहरी परिसर टेकु पुगेका थिए।
गत वर्ष गृह मन्त्रालयमा सचिवको रूपमा कार्यरत रहँदा उनले ठगी गर्ने गिरोहसँग लाभ लिएर जोगाएको प्रमाण भेटिएपछि पक्राउ पुर्जी जारी भएको हो।
पक्राउ परेका अभियुक्तहरूले आर्थिक लेनदेनको प्रमाणसहित उनको संलग्नता खुलाएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार अब उनको बयान प्रक्रिया अघि बढ्नेछ।
‘अदालतले तीन दिन थुनामा राख्न म्याद दिएको छ,’ उनले भने, ‘सिंहदरबार वृत्तमा राखी अनुसन्धान अघि बढाएका छौँ।’
अदालतले एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्धसमेत पक्राउ पुर्जी जारी गरेको छ।
सो ठगी प्रकरणमा हालसम्म सातजना पक्राउ परिसकेका छन्। प्रहरीले ठगीका साथै संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।