माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे माधव नेपालकाे आरोप

बुधबार, २० बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे आरोप लगाएका छन् । माओवादी केन्द्रको दम्भका कारण आफू दु:खी भएको उनकाे भनाइ छ।

पार्टीको प्रशिक्षणको सिलासिलामा आज बिहान सुर्खेत आएका नेपालले पत्रकार सम्मेलनमा भने, ‘माओवादी केन्द्रमा घमण्ड बढ्दै गएकाले त्यसबाट म दुःखी भएको छु ।’

अध्यक्ष नेपालले भने, ‘बजेटको बाँडफाँट आफैँ गर्ने, अनि अरू साझेदार पार्टीको कुनै अस्तित्व नै छैन भन्ने ठान्ने । खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दु:खित भएका छन् ।’

‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस् । त्यसो हुनाले त्यो घमण्ड छोड्नुस्, समानताको व्यवहार गर्नूस् । मिलेर अगाडि बढ्नुस्,’ उनले भने, ‘होइन भने एकचोटि एउटाले घमण्ड गर्यो, उसले लोप्पा खायो । अर्काेले फेरि घमण्ड गर्यो, उसले पनि लोप्पा खायो । अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ । थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे,  फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नुस् ।’ 
 

सुझावित समाचार