बिरामीले चिकित्सकलाई तिर्नुपर्ने ओपिडी शुल्क प्रत्येक टिकटमा ५० देखि एक सय १५ रुपैयाँसम्म बढेको छ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी ओपिडी शुल्क बढाइएको हो।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले स्वास्थ्य मन्त्रालयको सहमतिमा ओपिडी जाँचमा लिइँदै आएको परामर्श शुल्क बढाएको जनाएको छ।
विज्ञप्ति जारी गर्दै दुई–दुई वर्षमा परामर्श शुल्क पुनरावलोकन गर्न मिल्ने व्यवस्थाअनुरूप शुल्क बढाइएको बताइएको हो।
राष्ट्र बैंकको मुद्रास्फीति दरलाई ध्यानमा राखेर बढाइएको भनिएको शुल्कमा चिकित्सकको शुल्क अनुभवका आधारमा लिइनेछ।
शुल्क बढेसँगै, पाँच वर्षभन्दा कम चिकित्सा अनुभव भएका एमबिबिएस, बिडिएसको चिकित्सक चार सय २० रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएका एमबिबिएस तथा बिडिएस डाक्टरले पाँच सय १५ रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिएको हो।
यसअघि ०७७ फागुन ४ गते कायम गरिएको परामर्श शुल्क पाँच वर्षभन्दा कम अनुभव भएका चिकित्सकको शुल्क तीन सय ७० रुपैयाँ र पाँच वर्भन्दामाथि अनुभव भएकाको शुल्क चार सय ५० रुपैयाँ तोकिएका थियो।
यस्तै, डिप्लोमा लेभलका चिकित्सकको हकमा पाँच वर्षमुनिको अनुभव भएका चिकित्सकले पाँच सय ९० रुपैयाँ र बढी अनुभव भएका चिकित्सकले ६ सय ७० रुपैयाँ लिन पाउने भएका छन्। यसअघि कायम गरिएको शुल्कको आधारमा यो कम अनुभव भएकाभन्दा ७० र बढी अनुभव भएकाको हकमा ८० रुपयाँले बढी हो।
एमडिएमएस एमडिएस तहका चिकित्सकको हकमा पनि पाँच वर्षभन्दा कम र बढी अनुभव भएकामा क्रमशः ९० र १०० रुपँयाले बढेको हो। शुल्क बढेसँगै पाँच वर्षभन्दा कम अनुभव भएकाले ओपिडी शुल्क सात सय ५० रुपैयाँ र सोभन्दा माथि अनुभव भएकाले आठ सय रुपैयाँसम्म शुल्क लिन पाउने भएका छन्।
यसबाहेक, पाँच वर्षभन्दा कम अनुभव भएका डिएम, एमसिएच तहका चिकित्सकले ओपिडी शुल्क आठ सय ८० रुपैयाँ र बढी अनुभव भएकाले नाै सय ४० रुपैयाँ लिन सक्ने व्यवस्था गरिएको हो। यसअघि, कम अनुभव हुने चिकित्सकले सात सय ७० रुपैयाँ र बढी अनुभव भएका चिकित्सकले आठ सय २५ रुपैयाँ तोकिएको थियो।
यसबाहेक, चिकित्सकको ओपिडी शुल्कसम्बन्धी नेपाल सरकारको सेवा शुल्कको मापदण्डअनुसार स्तरीय नर्सिङहोम र अस्पतालहरूले बढीमा २० प्रतिशत थप शुल्क लिने पाउने छुट गरेको छ।
निजी अस्पतालका डाक्टरको तलबमा पनि वृद्धि
निजी अस्पतालमा कार्यरत चिकित्सकको तलबभत्तामा समेत वृद्धि हुने भएको छ।
निजी अस्पतालहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) र चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघले चिकित्सकको तलब बढाउने निर्णय गरेको हो।
तलब बढाउने निर्णयसँगै मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार सात सय ३७ रुपैयाँ कायम गरिएको छ।
यसअघि मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकिएको थियो। पछिल्लो दुई वर्षको अवधिमा बढेको मूल्यवृद्धिलगायतका विषयलाई मध्यनजर गर्दै मेडिकल अफिसरको तलब बढाउने निर्णय गरेको अफिन र संघले बताएका छन्।