जनसंख्यामा यसकारण पहिलोपटक दोस्रो हुँदै चीन

चीनमा सन् २०८० सम्ममा ६५ वर्ष माथिका मानिसको समूह जनसंख्या संरचनाको सबैभन्दा ठूलो हिस्सा हुनेछ

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

भारतको जनसंख्याले चीनको जनसंख्यालाई उछिन्न लागेको छ । भारत सरकारले सन् २०२१ मा गर्ने भनिएको जनगणनालाई कोभिड–१९ महामारीका कारण स्थगित गरेकाले भारतको जनसंख्याको ताजा र यकिन तथ्यांक उपलब्ध छैन । त्यसैले, भारतले चीनलाई कहिलेबाट उछिन्छ भन्ने ठ्याक्कै कसैलाई थाहा छैन । तर, जनसांख्यिकीय मामिलामा भरपर्दाे मार्गदर्शक निकाय संयुक्त राष्ट्रसंघका अनुसार यो अप्रिलमा भारत र चीनको जनसंख्या बराबर भएको छ । अर्थात् सन् २०२३ को अप्रिल महिनामा यी दुवै मुलुकको अनुमानित जनसंख्या एक अर्ब ४२ करोड ६० लाख पुगेको छ । यसैले, चीनको जनसंख्या घट्दो क्रममा र भारतको जनसंख्या बढ्ने क्रममै रहेकाले भारतले चीनलाई निकै चाँडै उछिन्छ भन्नु सुरक्षितै तर्क हुन्छ । 

यो अपेक्षितै थियो । तर, प्रजनन क्षमतामा गरिने परिवर्तनले दशकौँसम्म जनसंख्याको प्रवृत्तिलाई प्रभाव पार्छ भन्ने कुरा, प्रजनन दरलाई प्रत्यक्ष रूपमा विशेषगरी बलजफ्ती परिवर्तन गर्ने प्रयास सदैव असफल हुन्छन् भन्ने कुरा र जीवनस्तरमा सुधार ल्याउनु नै जनसंख्यालाई स्थिर बनाउने सुनिश्चित र सबैभन्दा मानवीय मार्ग हो भन्ने कुरा यस परिघटनामा पूर्वजानकारी नभएका विषय हुन् ।

सन् १९७० मा चीनको जनसंख्या ८२ करोड ३० लाख थियो भने भारतको जनसंख्या चीनको भन्दा करिब एकतिहाइले कम अर्थात् ५५ करोड ८० लाख थियो । तर, अन्य मामिलामा यी दुवै विशाल मुलुक समान थिए । जनसंख्यामा २५ वर्षभन्दा कम उमेर समूहको हिस्सा पनि समान रूपमा ६० प्रतिशत थियो । काम गर्ने उमेर समूहको जनसंख्या (२५ देखि ६४ वर्षबीचको जनसंख्या) पनि लगभग समान नै थियो, करिब ३५ प्रतिशत हाराहारी । यसैगरी, यी दुवै मुलुकको औसत प्रजनन दर पनि लगभग समान (प्रतिमहिला ६ बच्चासहित) थियो । अर्थात् यी दुवै देशका महिलाले आफ्नो जीवनमा औसतमा ६ बच्चालाई जन्म दिइरहेका थिए । यद्यपि त्यो निकै उच्चदर थियो । यो दर अहिले विश्वमा एक मात्र मुलुक नाइजरमा छ ।

यी मुलुकबीच एउटा अर्काे कुरा पनि समान थियो । पश्चिमा सरकारले उनीहरू दुवैलाई प्रजनन दरलाई पर्याप्त घटाउनुपर्छ भन्नेमा विश्वस्त गराएका थिए । यी मुलुकले बाध्यकारी गर्भनिरोधलाई प्रजनन दर नियन्त्रणको उपायका रूपमा अपनाए । महिलालाई पाठेघरमा गर्भनिरोधका उपकरण (आइयुडिए) राख्न र पुरुषहरूलाई भ्यासेक्टोमी गर्न बाध्य बनाइयो । चीनले अपनाएको प्रतिबन्धात्मक व्यवस्था भारतको भन्दा अधिक कठोर, दीर्घकालीन र प्रभावकारी थियो ।

चीनमा आगामी १५ वर्षभित्रै ६५ वर्षभन्दा बढी उमेरका मानिसको संख्याले २५ वर्षभन्दा कम उमेरका मानिसको संख्यालाई उछिन्दै छ । तर, भारतमा आगामी ६० वर्षसम्म पनि यो अवस्था आउनेछैन ।

सन् १९७० को दशकको सुरुवातबाटै चीनले ‘ढिला, लामो र थोरै’ नामक नीति सुरु गर्यो, जसको अर्थ ढिलो विवाह, शिशुको जन्ममा लामो अन्तराल र थोरै बच्चा (अधिकतम दुई) भन्ने थियो । सन् १९८० को दशकमा यसलाई अझ कठोर ‘एक सन्तान नीति’द्वारा प्रतिस्थापित गरियो । यो नियमले अधिकांश हान चिनियाँ दम्पतीलाई एक मात्र सन्तानको अनुमति दिन्थ्यो (यो नियम जातीय अल्पसंख्यकहरूको हकमा केही खुकुलो थियो) । यस्तो नीतिले चीनको प्रजनन दरलाई केवल दश वर्षमै ६ सन्तानबाट आधाले घटाएर महिलाको औसत प्रजनन दर तीनमा झार्यो ।

एक सन्तान नीतिका कारण यो दर थप तल धकेलिँदै गयो र सन् २०२२ सम्ममा आइपुग्दा १.२ पुग्यो । यो दर सामूहिक बसाइँसराइको अभावमा जनसंख्या घट्न थाल्ने दरभन्दा निकै कम हो । जसका कारण सन् २०२२ बाट चीनको जनसंख्या पहिलोपटक घट्न पुग्यो । यद्यपि त्यसवेला चिन्तित कम्युनिस्ट नेतृत्वले एक सन्तान नीति खारेज गरिसकेको थियो । 

यसविपरीत भारतले निकै छोटो समय मात्रै यस्तो नीति अख्तियार गर्यो, जुन लगभग छ महिना (सन् १९७६ देखि ७७ सम्म) चलेको थियो । साथै, भारतको संघीय प्रणालीका कारण पनि बन्ध्याकरणको कार्यक्रम उत्तरको तुलनामा दक्षिणमा कम कडाइका साथ लागू गरियो । यसकारण भारतीय प्रजनन दर सन् २०२२ मा मात्र २.० मा आइपुग्यो, जुन तथाकथित ‘रिप्लेसमेन्ट फर्टिलिटी रेट’भन्दा थोरै मात्र कम हो । फलस्वरूप, भारतीय जनसंख्याको संरचना चीनको तुलनामा अधिक स्थिर र सन्तुलित देखिन्छ । चीन डरलाग्दो गरी बुढ्यौलीमा पुगेको छ ।

चीनमा आगामी १५ वर्षभित्रै ६५ वर्षभन्दा बढी उमेरका मानिसको संख्याले २५ वर्षभन्दा कम उमेरका मानिसको संख्यालाई उछिन्दै छ । तर, भारतमा आगामी ६० वर्षसम्म पनि यो अवस्था आउनेछैन । चीनमा सन् २०८० सम्ममा ६५ वर्षभन्दा माथिका मानिसको समूह जनसंख्या संरचनाको सबैभन्दा ठूलो समूह हुनेछ । भारतमा यस्तो कहिल्यै नहुन सक्छ ।

बलपूर्वक नियन्त्रण प्रजनन दरमा गिरावटको एक मात्र कारण भने होइन । यी दुवै मुलुकको जीवनस्तर, स्वास्थ्य र शिक्षामा व्यापक सुधार भएकाले मानिसहरूले बिमा पोलिसीको रूपमा धेरै बच्चा जन्माउन आवश्यक महसुस गर्न छाडेका छन् । भारतको समृद्ध दक्षिणी राज्यहरूमा प्रजनन दर कम थियो । प्रजनन दर कम गर्न दक्षिणी राज्यहरूमा उत्तरमा जस्तो भ्यासेक्टोमी बेल्टकै सिर्जना गर्नुपरेन । अहिले पनि दक्षिणको प्रजनन दर राष्ट्रिय औसतभन्दा कम छ । चिनियाँहरूले पनि आर्थिक वृद्धि र सामाजिक सुधारको नरम प्रभावमा बढी भरोसा गरेका हुन्थे भने उनीहरूको जनसंख्या थप सन्तुलित र स्थिर हुन सक्थ्यो । साथै, अझै पनि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक पनि ऊ नै कायम रहन सक्थ्यो । 

See More On

सुझावित समाचार