कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्कमा तेब्बर वृद्धि

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

कोभिडअघि प्रतिव्यक्ति ४१ सय रहेकोमा अहिले १३ हजार ६ सय ६० रुपैयाँ पुर्याइयो

चीनले नेपालबाट कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्कमा तेब्बर वृद्धि गरेको छ । तीर्थयात्री समूहको सहयोगीका रूपमा नेपालबाट जाने कामदारहरूको भिसा पनि यो वर्षदेखि तेब्बर भएको छ । चीनले समूहमा कैलाश यात्रा गर्ने विदेशीहरूको बायोमेट्रिक अनिवार्य गर्दै भिसा प्राप्त गर्ने अवधि पनि पाँच दिन पुर्याएको छ । यसले नेपालबाट कैलाश यात्रा गर्न विदेशीहरू निरुत्साहित हुने जानकारहरू बताउँछन् । 

कैलाश यात्रामा यात्रीहरू समूहगत रूपमा जाने गरेका छन् । उनीहरूको खानपिनदेखि बन्दोबस्तको सहयोगका लागि प्रतिसमूह पाँचजना नेपाली सहयोगी जाने गरेका छन् । कैलाशयात्रीहरूका सहयोगी भएर जाने नेपालीहरूको भिसाशुल्क बढाएर चीनले १३ हजार ६६० रुपैयाँ प्रतिव्यक्ति पुर्याएको छ । ‘कोभिडभन्दा अगाडि ४१ सय रुपैयाँ हुँदा त महँगो थियो । अहिले तेब्बर बढेको छ,’ एक टुर अपरेटरले नयाँ पत्रिकासँग भने, ‘एउटा प्याकेज यात्राबाट १५–२० हजार रुपैयाँ कमाइ गर्ने सहयोगीका लागि भिसा शुल्क करिब १४ हजार पुग्नु साह्रै नै असहज हो । यो शुल्क यात्रुहरूले दिने सेवा शुल्कमा बढाएर लिनुपर्दा हामीलाई पनि अप्ठ्यारो भएको छ ।’ चिनियाँ भिसा सेन्टरले पनि शुल्क बढेको पुष्टि गरेको छ । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले कैलाश यात्रीको सहयोगी भएर तिब्बत जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको विषयमा पहिलोपटक सुनेको बताए । ‘म पहिलोपटक सुन्दै छु । यसबारे अहिलेसम्म मकहाँ जानकारी आएको छैन,’ राजदूत श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बरु सीमित टुर अपरेटरलाई मात्रै कैलाश यात्राका लागि अनुमति दिइएको भन्ने गुनासो आएपछि मैले चिनियाँसम्बद्ध अधिकारीसँग यसबारे ध्यानाकर्षण गराएको थिएँ ।’ भिसा शुल्क बढेको विषयमा पनि सम्बन्धित चिनियाँ निकायसँग कुराकानी गरेर समाधान गर्नुपर्ने उनको भनाइ छ । राजदूत श्रेष्ठले चिनियाँ नागरिकलाई नेपालमा अनअराइभल निःशुल्क भिसा यथावत् रहेको बताए । 

कैलाश यात्रामा जाने यात्रुहरूको भिसा प्राप्त गर्ने समय र प्रक्रिया चीनले झन्झटिलो बनाएको छ । ‘काठमाडौंमा रहेको चिनियाँ भिसा सेन्टरले बायोमेट्रिक लिएर मात्रै भिसा प्रक्रिया अघि बढाउन थालेको छ,’ एक व्यवसायीले भने, ‘भिसा प्राप्त गर्ने अवधि पाँच दिन पुर्याएको छ । दुई साता छुट्टी लिएर कैलाशका लागि नेपाल आउने विदेशीहरू भिसाका लागि पाँच दिन कसरी काठमाडौं बस्न सक्छन् ?’ उनीहरूलाई कैलाश जान तिब्बत सरकारले दिने अनुमति ल्हासाबाट सहजै प्राप्त हुने गरेको, तर भिसा प्रक्रियाका लागि भने चिनियाँ भिसा सेन्टरले समय लगाएको गुनासो गरे । 

चीन सरकारले भारतीय नागरिकलाई कैलाश यात्रा जाने अनुमति दिइसकेको छैन । भारतबाट उनीहरूलाई तिब्बत प्रवेशमा रोक लगाएको छ । ‘मेको अन्तिमसम्म भारतीय नागरिकलाई कैलाश यात्राका लागि अनुमति (परमिट) मिल्न सक्छ भनिएको छ । अनुमति प्राप्त भएको अवस्थामा भारतीय तीर्थयात्रीहरूलाई यात्रा गराउने ट्राभल एजेन्सीले सुरुमै ६० हजार अमेरिकी डलर (करिब ७८ लाख नेपाली रुपैयाँ) धरौटी राख्नुपर्ने भनेको छ । यो रकम पछि फिर्ता हुन्छ,’ कैलाश यात्राका लागि भारतीयहरूको समूहसँग समन्वय गरिरहेका एक व्यवसायीले नयाँ पत्रिकासँग भने, ‘विगतमा यस्तो अवस्था थिएन । भारतीयबाहेकको हकमा डिपोजिट राख्नुपर्दैन ।’

कैलाश मानसरोवरका लागि हरेक वर्षको मेदेखि सेप्टेम्बरसम्म मुख्य सिजन मानिन्छ । कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीहरूको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटर्ससँग चिनियाँ अधिकारी सम्पर्कमा छन् । 

सुझावित समाचार