उपाधिनजिक नेपाल

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाली दर्शकको क्रिकेट मोह : घरेलु मैदानमा भइरहेको एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल हेर्न पुगेका दर्शकले त्रिवि क्रिकेट मैदान खचाखच भरिएको थियो । बिहान ९ बजे खेल सुरु भयो । टस जितेर नेपालले फिल्डिङ रोज्यो । युएईको २७.३ ओभर सकिँदा वर्षाका कारण ११:४८ मा दोस्रोपटक खेल रोकियो । आयोजकले मैदान पालले ढाके । वर्षा बढ्दै गए पनि दर्शकले स्थान छाडेनन् । खेलको प्रतीक्षामा उनीहरू छाता ओढेर तीन घन्टाभन्दा धेरै समय मैदानमै बसे । पानी पर्न नरोकिएपछि दिउँसो ३ बजे अम्पायरले खेल स्थगित गर्दै यही अवस्थाबाट मंगलबार सुरु गर्ने निर्णय गरे । त्यसपछि मात्रै दर्शक मैदानबाट बाहिरिए । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सोमबार त्रिवि क्रिकेट मैदानमा युएईलाई १०६/९ को कमजोर अवस्थामा राखेको नेपाल एसिसी प्रिमियर कपको उपाधिनजिक छ । वर्षाका कारण फाइनलको पहिलो इनिङ्स २७.३ ओभरबाट अगाडि जान सकेन । मंगलबार ‘रिजर्भ डे’मा युएईले यही अवस्थाबाट खेल्नेछ । ह्याट्रिकनजिक रहेका नेपालका ललित राजवंशीले बलिङ गर्नेछन् । 

युएईको अन्तिम एक विकेट लिँदा नेपालले सहज लक्ष्य प्राप्त गर्न सक्छ । सोमबार वर्षाका कारण खेल रोकिनुअघि ललितले लगातार बलमा विकेट लिएका थिए । प्रतियोगिताको विजेतालाई सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा प्रतिस्पर्धा गर्ने अवसर छ । एसिसी प्रिमियर कपको विजेताले सीधै एकदिवसीय फर्म्याट र टी–२० विश्वकपका पूर्वविजेता भारत र पाकिस्तानसँग खेल्नेछ । 

युएई र नेपालबीच चलिरहेको उपाधि भिडन्तको रिजर्भ डेमा फेरि वर्षाले खेल बिथोलिदिन सक्छ । यदि, नेपालले लक्ष्य पछ्याउँदा झरीले प्रभावित पारे डिएलएस नियमअनुसार नयाँ लक्ष्य पाउनेछ । तर, यसका लागि नेपालले २० ओभरको खेल खेल्नुपर्छ । डिएलएस नियम लागू भएन भने उपाधिको छिनोफानो सम्भवतः सुपर ओभरबाट हुन सक्छ । सुपर ओभरमा समेत खेल गएन भने आइसिसीको एकदिवसीय वरीयताअनुसार विजेता घोषणा हुनेछ । यस्तो अवस्थामा नेपाल युएईभन्दा वरीयतामा माथि छ । आइसिसी एकदिवसीय वरीयतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छन् । 
 

सुझावित समाचार