उपलब्धिविरुद्ध विभिन्न शक्ति सल्बलाउँदा पनि सरकार गम्भीर छैन : केपी ओली

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण
उपलब्धिविरुद्ध विभिन्न शक्ति सल्बलाउँदा पनि सरकार गम्भीर छैन : केपी ओली

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले केही गर्न नसक्ने दाबी गरेका छन्। 

नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो। 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए। 

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको आराेप लगाए। 

ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे। 

सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए। 

अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको, तर ठेकेदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकेदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताए। 

उनले भने, ‘हामी नेपाली जनता यतिवेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ। अहिले  चौतर्फी ढंगले अनेक प्रकारका तत्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरूविरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन्। कोहीकोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । नेपाली जनता सजग हुनुपर्दछ।’ 

ओलीले श्रमिकहरूबीच फाटो ल्याउने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरलाई एकताबद्ध हुन आह्वान गरे। 

सुझावित समाचार