नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको छ । बोर्डले आवेदन परेका कम्पनीलाई छनोट तथा मूल्यांकन गर्न आइतबार समिति बनाएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमको नेतृत्वको मूल्यांकन समिति गठन गरेको हो । गौतम धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य पनि हुन् ।
त्यस्तै, समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री सदस्य रहेका छन् । धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरीसमेत सदस्य रहेका छन् ।
मूल्यांकन समितिले आवदेन परेका तीनवटै स्टक एक्सचेन्ज कम्पनी र चारवटा कमोडिटी एक्सचेन्स कम्पनीको मूल्यांकन र छनोट गर्नेछ । स्टक एक्सचेन्ज निवेदक कम्पनीलाई मापदण्डहरूका आधारमा अंक दिने व्यवस्था छ । जसको पूर्णांक सय तोकिएको छ । विस्तृत व्यावसायिक कार्य योजनाको ६० अंकबाहेक समितिले अन्य मापदण्डमा प्राप्त अंक र अंकभारलाई गणना गरी बोर्डसमक्ष पेस गर्नेछ । प्रस्तावित प्रविधिको २४ अंक, सञ्चालकहरूको अनुभव र शैक्षिक योग्यतालाई आठ अंक र पुँजीलाई चार अंकभारमा विभाजन गरिएको छ ।
जसअनुसार आवदेन परेका हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल, अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड रहेको छ । त्यस्तै, कमोडिटीमा मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज रहेका छन् । जसमध्ये स्टकमा कुनै एउटाले लाइसेन्स पाउनेछ भने कमोडिटीमा दुईवटा कम्पनीले लाइसेन्स पाउनेछन् ।
धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बल्ल समिति बनेको र मंगलबारबाट कम्पनी छनोट र मूल्यांकन पक्रिया सुरु गरिने बताए । उनले भने, ‘यति समयमा सकिन्छ भन्ने समय तोकिएको छैन, सम्भवतः एक महिनाभित्र निष्कर्षमा पुग्न सक्छौँ ।’