निराको हत्या क्यासिनोको लतले ऋणमा डुबेका युवकबाट

हत्यामा संलग्न भएको आरोपमा झापाका विनोद विश्वकर्मा पक्राउ, सिक्री लुट्न खोजेपछि प्रतिवाद गर्दा निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण
निराको हत्या क्यासिनोको लतले ऋणमा डुबेका युवकबाट

निरा पाण्डे आचार्य हत्याका आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गर्दै प्रहरी ।

‘नाइट क्लब’का बाउन्सर झापा मेचीनगर नगरपालिका– १ का ३५ वर्षीय विनोद विश्वकर्मालाई शरीर ‘मस्कुलर’ बनाउने मात्रै होइन, ‘क्यासिनो’मा पैसा उडाउने लत पनि थियो । अन्ततः उनको सोही लत ३५ वर्षीया निरा पाण्डे आचार्य हत्याको कारण बन्यो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार विवाहित विश्वकर्मालाई ‘क्यासिनो’ खेल्ने लत झापामै लागेको थियो । शरीर ‘मस्कुलर’ बनाएका उनी केही वर्ष झापामै ‘नाइट क्लब’मा बाउन्सर बने । वेलामौकामा ‘क्यासिनो’ जान्थे, जुवा खोल्थे । खल्तीमा भएको धेरथोर रकम कहिले हार्थे, कहिले जित्थे । यही क्रममा उनलाई ‘क्यासिनो’ खेल्ने नसा बस्यो । खेल्दै जाँदा उनलाई तीन लाख रुपैयाँ ऋण लाग्यो । तिर्न नसकेपछि उनी परिवारको शरणमा पुगे ।

ऋण तिरिदिन आग्रह गरे । तर, श्रीमती र परिवारका सदस्य उनको आग्रह मान्न तयार भएनन् । बरु ऋण नरितेसम्म घरमै नआउन भने । विरक्तिएका उनी काठमाडौं आए । ठमेलस्थित भाइब्रेन्ट क्लबमा बाउन्सर बने । जिम जाने, शरीर ‘मस्कुलर’ बनाउने क्रमलाई निरन्तरता दिइरहे । बेलामौकामा ‘क्यासिनो’ पनि जाने थाले ।

आम्दानी सीमित थियो । खर्च धान्न सक्ने अवस्था रहेन । आम्दानी थोरै बढ्ने देखिएपछि अर्को ‘बेबी लाउन्ज’मा बाउन्सर बसे । केही समय काम गरे । यही क्रममा उनले ‘गर्लफ्रेन्ड’ पनि बनाए । खर्च बढ्न थाल्यो । तर, त्यहाँको आम्दानीले पनि उनको खर्च धान्न सकेन । उनले जागिर छाडे । त्यसपछि उनी चाबहिल बस्न थाले । र, त्यहाँ पनि ‘नाइट क्लब’मै काम गर्न थाले । आम्दानी त्यहाँ पनि सीमित थियो । खर्च धान्न सक्ने अवस्था भएन । खर्चकै विषयमा विवाद बढेपछि उनलाई ‘गर्लफ्रेन्ड’ले पनि छाडिन् । 

 एक महिनादेखि नाइट क्लबको जागिर छाडेर साथीको डेरामा
प्रहरीका अनुसार विश्वकर्माले एक महिनाअघि चाबहिलस्थित नाइट क्लबको जागिर पनि छाडेका थिए । भक्तपुर नगरपालिका– १ लोकन्थलीस्थित साथीको डेरामा बस्दै आएका उनले झापामा क्यासिनो खेल्दा लागेको ऋण त तिर्न सकेका थिएनन् । काठमाडौं बस्दाको व्यक्तिगत खर्चसमेत जुटाउन सकिरहेका थिएनन् । त्यसैले उनी दोहोरो तनावमा थिए । यही क्रममा उनी गत ७ वैशाख अपराह्न कपनको सरस्वतीनगर पुगे । सडकमा हिँड्दै गरेका उनी निरा पाण्डेले सञ्चालन गर्दै आएको निरु किचेन एन्ड गिफ्ट पसलनजिक पुगे । 

पसलमै एक्लै थिइन् निरा । विश्वकर्माको आँखा निरामा प¥यो । हातमा सुनका बाला र गलामा सुनका सिक्री पनि देखे । बाहिरबाट हेर्दा पसल पनि भव्य देखिन्थ्यो । कारोबार धेरै हुने भन्ने लागेपछि उनले पसल लुट्ने योजना बनाए । केही घन्टाको निगरानीपछि उनी पसलमा ग्राहक बनेर छिरे । सामग्री मोलतोल गर्ने बहानामा पसलभित्रका गतिविधि नियाले । निरा एक्लै भएको देखेपछि उनी योजना कार्यान्वयन गर्न अघि बढ्दै थिए । यही क्रममा पसलमा अर्को ग्राहक आइदियो । उनले योजना थाती राखे । र, एटिएमबाट रकम झिक्न भन्दै पसलबाट बाहिरिए । 

टाढा बसेर विश्वकर्माले पुनः निरा र उनको पसल निगरानी गरिरहेका थिए । कोही नभएको मौकामा उनी दोस्रोपटक पसलभित्र छिरे । र, निराको गलामा रहेको सिक्री लुटपाटमा उत्रिए । निराले उनको हात जोडसँग समातिन् । फुत्किन प्रयास गरेका उनले निराको हात टोकिदिए । निरा प्रतिकारमा उत्रिएपछि उनले पसलकै चक्कु हातमा लिए र निरालाई अन्धाधुन्ध प्रहार गर्न थाले । धेरै चोटपछि निरा पसलमै ढलिन् । उनले निराको गलाबाट सिक्री निकालेर आफ्नो खल्तीमा हाले । काउन्टरमा रहेको १३ सय रुपैयाँ लिएर बाहिर निस्किए ।

एआइजी किरण बज्राचार्य, सिआइबी प्रमुख

विनोद विश्वकर्मा झापामा हुँदा क्लबमा बाउन्सर रहेछ । क्यासिनोको लत रहेछ । ठूलो रकम क्यासिनोमा हारेको देखिन्छ । यही कारण यसको परिवारमा विवाद भयो । ऋण नतिरेसम्म घर नआउन श्रीमतीसहित घरका अन्य सदस्यले भनेपछि काठमाडौं आएको र बाउन्सरको काम गरेको देखिन्छ । सीमित कमाइले आवश्यकता धान्न नसकेपछि तनावमा रहेको देखिन्छ । पछि उसलाई ‘गर्लफ्रेन्ड’ले पनि छाडेको देखिन्छ । यही तनावबीच लुट्ने उद्देश्यले निरालाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।

अनुसन्धानमा संलग्न सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले निराको हत्या ‘क्यासिनो’बाट लागेको ऋण एउटा कारण रहेको बताइन् । ‘विश्वकर्मा झापामा हुँदा क्लबमा बाउन्सर रहेछ । क्यासिनो खेल्ने लत लागेको रहेछ । उसले ठूलो रकम क्यासिनोमा हारेको देखिन्छ । यही कारण परिवारमा विवाद भयो । ऋण नतिरेसम्म घर नआउन श्रीमतीसहित घरका अन्य सदस्यले भनेपछि काठमाडौं आएको र बाउन्सरको काम गरेको देखिन्छ । सीमित कमाइले आवश्यकता धान्न नसकेपछि तनावमा रहेको देखिन्छ । पछि उसलाई ‘गर्लफ्रेन्ड’ले पनि छाडेको देखिन्छ । यही तनावबीच लुट्ने उद्देश्यले यसले निरालाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ उनले भनिन् ।

 लुटिएको सिक्री प्रहरीका लागि मुख्य सबुत 
निराको हत्याको मुख्य सबुत नै लुटिएको सुनको सिक्री बनेको छ । निराको हत्यापछि विश्वकर्मा घटनास्थलबाट भित्री बाटो हुँदै गोपीकृष्ण हलतर्फ लागे । चोक पुगेपछि ट्याम्पो चढे । चाबहिल चोकस्थित एसी कम्प्लेक्समा झरे । त्यसपछि पठाओ चढेर लोकन्थली पुगे । लोकन्थलीमै थियो उनको भाइको घर । सर्ट खोले । झोला झिके । त्यहीँ राखे अनि सुते । भोलिपल्ट उनी तारकेश्वर नगरपालिका– १० हिलेटोलस्थित पाथीभरा सुनचाँदी पसल पुगे । खल्तीमा रहेको सुनको सिक्री धरौटी राखे । र, ५५ हजार रुपैयाँ लिए । त्यही रकम लिएर उनी बनेपा हुँदै झापा पुगे ।

 अनुसन्धानमा संलग्न सिआइबी प्रमुख एआइजी बज्राचार्यले सुनचाँदी पसलबाट निराले लगाएको सिक्री बरामद भएको र घटना पुष्टि गराउने यो नै सबैभन्दा ठूलो प्रमाण रहेको बताइन् । ‘निराले लगाएको सिक्री तारकेश्वरको गहना पसलबाट बरामद भएको छ । पक्राउ अभियुक्तले नै लगेर गहना बेचेको देखिन्छ । त्यसो हुँदा घटना पुष्टि गराउने यो सबैभन्दा ठूलो प्रमाण बनिदियो,’ उनले भनिन् ।

प्रहरीले लोकन्थलीस्थित डेराबाट रगत लत्पतिएको सर्ट, घटनाका दिन प्रयोग भएको जुत्ता र झोला पनि बरामद गरेको छ । ब्युरो प्रवक्ता एसपी सञ्जयसिंह थापाले रगत लत्पतिएको सर्ट पनि बरामद भएकाले यो घटना पुष्टि गराउने अर्को महत्वपूर्ण प्रमाण रहेको बताए । ‘घटना हुँदा उसले लगाएको सर्ट लोकन्थलीस्थित भाइको डेराबाट बरामद भएको छ । जहाँ घटना भएको दिन उनी सुतेका थिए । सर्टमा रगतको टाटा देखिन्छ । परीक्षणका लागि त्यसलाई प्रयोगशाला पठाइएको छ । घटना हुँदा लगाएको जुत्ता, भिरेको झोला पनि बरामद भएको छ । जसले हत्यामा पक्राउ व्यक्ति नै संलग्न रहेको पुष्टि गराउँछ,’ उनले भने । 

निराको गत ७ वैशाख अपराह्न कपनको सरस्वतीनगरस्थित निरु किचेन एन्ड गिफ्ट पसलमा हत्या भएको थियो । शरीरमा लागेको गहिरो चोट मृत्युको कारण रहेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । पोस्टमार्टम महाराजगन्जस्थित शिक्षण अस्पतालमा गरिएको थियो । हत्या भएको एक साता बितिसक्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै निराका परिवार र आफन्त आन्दोलनमा उत्रिएका थिए ।

धन प्राप्त गर्ने लोभमा आपराधिक गतिविधि
 मोबाइल लुट्न सडकमा हिँडेकाको हत्या 

गत २२ फागुनमा काठमाडौंको कालोपुलस्थित रुद्रमती मार्गमा मोबाइल डकैत गर्ने क्रममा पर्सा वीरगन्ज महानरपालिका– १५ का ५७ वर्षीय धु्रवबहादुर खड्काको हत्या भयो । हत्यामा संलग्न थिए, मोरङ सुन्दरहरैचा नगरपालिका– ७ का ३२ वर्षीय रामबहादुर थापा । उनले २२ फागुनको राति १० बजे कालोपुलस्थित रुद्रमती मार्गमा खड्काको हत्या गरेका थिए । हत्यापछि उनले खड्काको मोबाइल र पर्स लिएर गएका थिए ।

प्रहरीका अनुसार खड्का बत्तीसपुतली सडकमा थिए । उनलाई थापाले जबर्जस्ती ट्याक्सीमा राखेर कालोपुलतर्फ लगे । एकान्त ठाउँमा उत्रिएपछि थापाले खड्कालाई घिसार्दै कुनातर्फ लगे । त्यसपछि शरीर खनतलासी गरे । खड्काले प्रतिवाद गरेपछि थापाले लाती र मुक्काले प्रहार गरे । घाइते खड्का चोटका कारण सडकमै ढले । मरणासन्नपछि थापा साइकलमा भागे । पछि पुनः फर्किएर थापा घाइते खड्काको छातीमा उफ्रिएका थिए । सोही चोटका कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ । 

 एक तोला सुनको सिक्री लुट्न दिदीबहिनीको हत्या 
गत २३ चैतमा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका– ३ रन्मामा सात वर्षीया कालीमाया बुढा र आठ वर्षीया रिना बुढाको मृत शरीर स्थानीय खोलामा फेला पर्‍यो । अनुसन्धानका क्रममा दुई दिदीबहिनीको हत्या भएको पुष्टि भयो । खोतल्दै जाँदा घटनामा संलग्न स्थानीय किशोर पक्राउ परे । बयानका क्रममा खुल्यो, कालीमाया र रिनाको हत्या एक तोला सुनका लागि गरिएको रहेछ । घटनाले धन प्राप्त गर्न किशोरहरूले अपनाएको आपराधिक गतिविधि मात्रै सतहमा ल्याएन, भौतिक प्रगतिलाई प्रधान ठान्ने वर्तमान समाजको चरित्रलाई समेत उदांगो बनाइदियो ।

सुझावित समाचार