आन्दोलन बढेपछि ऋणीहरूलाई लघुवित्तको प्रशिक्षण

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

लघुवित्तबाट ऋण लिएकाहरूलाई स–साना पुँजी संकलन गरेर स्वरोजगार प्रवर्द्धन र बचत विकासमा सहयोग पुर्याउने उद्देश्यले भैरहवामा प्रशिक्षण दिइएको छ।

लघुवित्तविरुद्ध आन्दोलनका कार्यक्रम निरन्तर भएपछि नेपाल लघुवित्त बैंकर्स संघले साक्षरता कार्यक्रम सञ्चालन गरेको संघका कोषाध्यक्ष एवं उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख प्रेमबहादुर पाठकले जानकारी दिए। कार्यक्रममा रुपन्देहीका करिब एक हजार लघुवित्त बचतकर्ता, ऋणीलगायतलाई प्रशिक्षण दिइएको हो। 

पछिल्लो समय लघुवित्तले चर्को ब्याज लिएको भन्दै ऋणीहरूले आन्दोलन गरिरहेपछि लघुवित्त बैंकर्स संघले सरोकारवाला निकायहरूलाई सहभागी गराएर प्रशिक्षण तथा साक्षात्कार गराएको हो। रुपन्देहीमा करिब दुई हप्तादेखि केही ऋणी आन्दोलनमा छन्।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दिदीबहिनीको रकम तथा ग्रामीण क्षेत्रमा रहेका सानासाना पुँजीहरू संकलन गर्ने, बचतको विकास गर्ने, लगानी गर्ने र स्वरोजगार कार्यक्रममा टेवा पुर्याउने काम लघुवित्तले गर्दै आएको बताउँदै यस्ता संस्थालाई संरक्षण गरी प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए।

नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक सत्येन्द्रराज सुवेदीले लघुवित्तहरूले नियमविपरीत चर्को ब्याज लिएको भए राष्ट्र बैंकले नियमन गर्ने, तर ऋण लिएर तिर्दैनौँ भन्न नहुने बताए।

प्रशिक्षण कार्यक्रममा सहभागीले लघुवित्त संस्थाहरूको संरक्षणमा सबैको समान दायित्व रहेको बताएका थिए। पछिल्लो समय लघुवित्तविरुद्ध आन्दोलन भइरहेको जनाउँदै यस्ता संस्थाले छरिएर रहेको पुँजीलाई एकीकृत गरी गाउँगाउँमा पुर्याएर गरेको योगदान बिर्सिन नहुनेमा जोड दिएका थिए।

सुझावित समाचार