नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले ३३ करोड ५० लाख नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा करिब दुई करोडले बढी हो । संस्थाको नवौँ साधारणसभाले सेयरधनीलाई १५ प्रतिशतले हुन आउने आठ करोड ८० लाखबरारबरको बोनस सेयर दिने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष केशवप्रसाद आचार्यले बताए ।
उनले भने, ‘हामीले १५ प्रतिशत लाभांश दिने पारित गरेका छौँ । संस्थाको चक्ता पुँजी ६७ करोड ४६ लाख ७६ हजार दुई सय १९ रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ ।’
धादिङको नीलकण्ठ नगरपालिकामा ०७१ असार १८ गतेबाट सञ्चालनमा आएको संस्थाले ६४ जिल्लाका एक सय एक शाखाबाट सेवा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए ।
संस्थाले करिब एक लाख ५० हजार विपन्न परिवारलाई सेवा पुर्याउँदै आएको छ । उनले भने, ‘७९ हजारभन्दा बढी सदस्यलाई विभिन्न परियोजना सञ्चालन गर्न ११ अर्ब ४२ करोड कर्जा लगानी गरिरहेको छ । त्यस्तै, कुल बचत तीन अर्ब २४ करोड संकलन गरेको छ ।’