सहरी क्षेत्रका अधिकांश सरकारी विद्यालयमा विद्यार्थीको खडेरी छ । कतिपयमा त विद्यार्थीभन्दा शिक्षक धेरै भएर बन्द भएको समेत पाइन्छ । उपत्यका (भक्तपुर)कै केही विद्यालय मर्ज पनि भएका छन् । तर, यहीँका केही सरकारी विद्यालय भने निजीभन्दा अब्बल छन् । भर्ना गर्न रुचि देखाउने सबै विद्यार्थीलाई राख्न नसकेर फर्काउनुपर्ने अवस्था छ ।
बौद्ध महाँकालस्थित जनकल्याण माविले पनि केही वर्षयता यसरी नै विद्यार्थी फिर्ता गरिरहेको छ । यहाँ अहिले १ देखि १२ कक्षासम्म दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । ३० वर्षअघिसम्म यो विद्यालयमा न्यून आम्दानी भएका, मजदुरका छोराछोरी र गाईबाख्रा चराउने गोठाला र उनीहरूका छोराछोरी मात्रै अध्ययन गर्ने गरेको स्थानीयवासी बताउँछन् । ०४४ सालअघि रुद्री–चण्डीजस्ता कर्मकाण्डी विषय पढाइ हुने गरेको उनीहरू बताउँछन् । ०४५ सालयता भने विद्यालयको भौतिक संरचना व्यवस्थित पार्न जग्गा प्राप्ति, शिक्षक दरबन्दी माग, फरक पठनपाठन शैली अपनाउन थालेको उनको भनाइ छ ।
पछिल्लो समय यस विद्यालयमा प्राविधिक र व्यावहारिक विषय सँगसँगै पढाइ हुने गरेको छ । विद्यार्थीलाई च्यातिएको लुगा सिलाउने, खानेकुरा पकाउने, मौलिक पहिरन लगाउने, खेतबारी तथा कृषि कर्म गर्न सिकाउनेलगायत सीपमूलक शिक्षामा जोड दिँदै आएको छ । विद्यालयले ७० वर्ष पार गरेको छ ।
रुद्री–चण्डी पढाइ हुँदै गोठालाले पढ्ने विद्यालयका रूपमा चिनिएको जनकल्याणले उपत्यकाको अब्बल सामुदायिक विद्यालयभित्र आफूलाई पार्न सफल भएको प्रधानाध्यापक कुमारीकमला राईले बताइन् । सरकारी विद्यालयलाई सुधार्न व्यावहारिक, आधुनिक र विद्यार्थीको आवश्यकतालाई मध्यजनर गर्नुपर्ने उनको धारणा छ । ‘यो स्कुलको ७० वर्षे इतिहास रोचक र पीडादायी छ, सुरुसुरुमा रुद्री–चण्डीबारे पढाइ हुन्थ्यो, त्यसपछि गोठालाहरूले पढे, आसपासका स्थानीयले जग्गा दान गरेपछि बिस्तारै विद्यालयको संरचना फराकिलो बन्न थाल्यो,’ उनले भनिन्, ‘हामीले ०५१ सालदेखि विद्यालयलाई सुधार गर्दै ल्याएर यो अवस्थामा पुर्यायौँ ।’ तर, सरकारले उत्कृष्ट सामुदायिक विद्यालयलाई मूल्यांकनसमेत नगरेको प्रअ राईको गुनासो छ । उनले माध्यमिक शिक्षा स्थानीय तहमा गइसकेपछि महानगरअन्तगर्तको शिक्षा विभागले सहयोग नगरेको बताइन् ।
अहिले यो विद्यालय उपत्यकाभित्रको उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्छ । व्यावहारिक, गुणस्तरीय र नियमित पठनपाठन हुने भएकाले विद्यालयमा विद्यार्थीको आकर्षण बढेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र प्रधानाध्यापकको मिहिनेतका कारण विद्यालय अब्बल बनेको विद्यालयका सूचना अधिकारी सुरेशकुमार कटुवालले बताए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले केही सरकारी विद्यालय आफ्नै प्रयासले सुधार भएपछि उनीहरूलाई प्रेरणा दिन आवश्यक रहेको र कमजोर सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्ने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सामुदायिक विद्यालयलाई सुधार गर्ने बताए । उनले सामुदायिक विद्यालयलाई सुधार गर्न आवश्यक नीति–नियमसमेत परिमार्जन गर्नुपर्नेमा जोड दिए । ‘सामुदायिक विद्यालयलाई सुधार गर्नु अहिलेको आवश्यकता हो, केही विद्यालय अभावबीच उदाहरणीय बनेका छन्, केही निकै कमजोर छन्,’ उनले भने, ‘सामुदायिक विद्यालय सुधार गर्न सरकार नीति–नियम परिमार्जन गर्न पनि तयार छ ।’
शुक्रबार सम्पन्न विद्यालयको ७०औँ वार्षिकोत्सवका अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, पूर्वशिक्षक, समाजसेवी, सञ्चारकर्मीलगायतलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।