लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज नियुक्त गरेका हुन्।
एमाले नेतृत्वको सरकार ११ चैतमा ढलेपछि प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकारका लागि आह्वान गरेका थिए।
साेही आह्वानबमाेजिम चौधरी लुम्बिनीका पाँचौँ मुख्यमन्त्रीका रूपमा आज नियुक्त भएका हुन्। चौधरीलाई कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसदले हस्ताक्षर गरी मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए।
यसअघि एमाले नेता शंकर पोखरेल दुईपटक मुख्यमन्त्री नियुक्त भएका थिए। त्यस्तै, माओवादी केन्द्रका कुलप्रसाद केसी, एमालेका लीला गिरी मुख्यमन्त्री भएका थिए। पार्टीहरूको विभाजन तथा दलहरूको समीकरण फेरबदलको परिणाम निम्तिएको अस्थिरताले लुम्बिनीमा अघिल्लो पाँचवर्षे कार्यकालमा तीनजना मुख्यमन्त्री भए।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, जनमत, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका तीन–तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन्।
तीमध्ये एमालेका २९ र राप्रपाका चारबाहेक अन्य दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन्।
आलोपालोमा सहमति
माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सवालमा कांग्रेससँग सहमति भएको बताएको छ। आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार पहिलो चरणमा चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारिएको हो।
