गण्डकी प्रदेशमा अब बन्ने नयाँ सरकारको नेतृत्वको दाबी गरेको माओवादीका नेताहरूले कांग्रेसलाई नेतृत्व दिन आनाकानी गरिरहेका छन् ।
यसअघि पार्टी अध्यक्ष प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र गठबन्धनमा रहेका दलका शीर्ष नेताले गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने र पहिलो नेतृत्व माओवादीले गर्ने भनी मौखिक सहमति गरेको उनीहरूको दाबी छ ।
गत शनिबार गण्डकीका मुख्यमन्त्री पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । सोमबार गठबन्धनमा रहेका दलका नेताले कांग्रेस नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए ।
सोमबार नेताहरूले गरेको सहमतिसँगै असन्तुष्ट माओवादीको मंगलबार संसदीय दलको बैठक बसेर सरकारको पहिलो नेतृत्व आफूहरूले गर्न पाउनुपर्ने भन्दै संसदीय दलका नेता हरिबहादुर चुमानसहितका नेताहरू पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न काठमाडौं गएका थिए ।
काठमाडौं गएको टोली बुधबार पोखरा आएको छ । पोखरा आएका नेता चुमानलाई सम्पर्क गर्दा केन्द्रमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्नेमा कुनै सहमति नभएको जानकारी आफूहरूलाई पार्टी अध्यक्ष प्रचण्डले दिएको बताए ।
भेटमा अध्यक्ष प्रचण्डले बुधबार साँझ कांग्रेस सभापतिसहित शीर्ष नेताको बैठक बसेर नेतृत्व कसले गर्ने भन्ने निर्णय हुने बताएपछि आफूहरू पोखरा आएको चुमानको भनाइ छ ।
सरकार गठनका विषयमा कांग्रेसले आफूहरूसँग छलफल गरेको भए पनि अध्यक्ष प्रचण्डले बैठकपछि निर्णय दिने भनेर आफूहरूलाई पठाएका कारण सोही निर्णयको प्रतीक्षामा आफूहरू बसेको भनाइ उनको छ ।
‘केन्द्रमा बैठक बसेपछि पार्टी अध्यक्षले त्यसको जानकारी दिने भन्नुभएकाले उहाँको फोन कुरेर बसेको छु, हालसम्म माथिबाट केही कुरा आएको छैन,’ चुमानले नयाँ पत्रिकासँग भने ।
सरकारको नेतृत्वलाई लिएर गठबन्धनमा रहेका दलहरूबीचको किचलोको कारण प्रदेश प्रमुख पृथ्वीमान गुरुङले समेत तीन दिनसम्म सरकार गठन आह्वान गर्न सकेनन् । सोमबार केन्द्रमा सहमतिसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को (२) अनुसार बिहीबार चार बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।
माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने भन्दै असन्तुष्ट जाहेर गरे पनि कांग्रेस भने नयाँ सरकार गठनका लागि अघि बढेको छ । सरकार गठनका विषयलाई लिएर छलफल गर्न आइतबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र सोमबार पार्टीका एक दर्जन प्रदेश सभा सदस्यहरू काठमाडौं गएका थिए ।
सोमबार दलका नेताहरूले सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति गरेपछि काठमाडौं गएको कांग्रेसको टोली मंगलबार पोखरा फर्किएको छ । कांग्रेस टोली पोखरा फर्किएकै दिन माओवादी नेताहरू काठमाडौं गएका हुन् ।
काठमाडौं गएको टोलीका एक सदस्य प्रदेश सभा सांसद महेन्द्रध्वज जिसीले टोलीलाई पार्टीका नेताहरूले गण्डकी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति शीर्ष नेताबीच भएको जानकारी गराएका छन् ।
‘हामीलाई पार्टीका नेताहरूले गण्डकीमा कांग्रेस नेतृत्वमा माओवादीसहितको सरकार बन्ने निर्णय भएको भन्ने जानकारी दिएका छन्,’ उनले भने, ‘एउटै पार्टीभित्र त असन्तुष्ट हुन्छ भने फरक पार्टीमा हुनु स्वाभाविक हो । अब माओवादीसँग पनि छलफल गरेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्न दाबी पेस गर्नेछौँ ।’
प्रदेशमा यसअघिसमेत धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा गत २५ पुसमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओवादीले १० चैतमा आफनो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका अधिकारीले ९ वैशाखको प्रदेश सभा बैठकमा भएको मतविभाजनमा आवश्यक मत लिन असफल भएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । प्रदेश प्रमुखले १६८ (२) बमोजिम सरकार गठनको आह्वान गरेपछि एमाले भने असन्तुष्ट बनेको छ ।