अस्ट्रेलियामा नेपाली समुदाय जोड्न ‘कनेक्टिङ कम्युनिटी थ्रू इन्टर्‍याक्सन’ हुँदै

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

अस्ट्रेलियामा बसोबास गरिरहेका नेपाली तथा समुदायलाई एकआपसमा जोड्न ‘कनेक्टिङ कम्युनिटी थ्रू इन्टर्याक्सन’ कार्यक्रम हुने भएको छ। आगामी १३ मेमा हुने उक्त कार्यक्रम सिड्नीस्थित इभरेस्ट टिभी कम्युनिटी मिडियाको आयोजनामा हुन लागेको हो। 

अस्ट्रेलियामा नेपालीहरूको संख्या वृद्धि भएसँगै समस्या पनि बढेको र त्यसको समाधानार्थ अन्तर्क्रियामार्फत पहल खोज्न सहयोग हुने आयोजकको भनाइ छ । अन्तर्क्रिया कार्यक्रमका मुख्य उद्देश्यमा, नेपाली समुदायमा विशेष गरी विद्यार्थी र अस्थायी भिसामा रहेका नेपाली नागरिकहरूको वास्तविक समस्या चिन्ने र बुझ्ने, समाधानको उपाय र अवसर प्रदान गर्ने तथा प्रवासमा रहेका नेपालीहरूबीचमा आपसी सौहार्दताको विकास गर्ने रहेका छन्। 

कार्यक्रममा सहभागी तथा इमेलबाट पनि प्रश्न सोध्न सकिनेछ। उत्कृष्ट प्रश्न गर्नेलाई पुरस्कारस्वरूप क्रमशः प्रथमलाई ३००, दोस्रोलाई २०० र तेस्रोलाई १०० अस्ट्रेलियन डलर दिइने आयोजकको भनाइ छ। 

‘अस्ट्रेलियामा नेपालीहरू विशेष गरी विद्यार्थीका रूपमा आउने गर्दछन् र थोरै व्यक्ति मात्रै वर्किङ भिसा या दक्ष कामदारका रूपमा अस्ट्रेलिया आउने तथ्यांक छ। समस्या कहिले पनि आफैँ सिर्जना हुँदैन र त्यसको पछि केही न केही कारण पक्कै हुन्छ,’ आयोजकमध्येका एक तीर्थ खतिवडाले भने, ‘यी समस्या समाधानका लागि नेपाली दूतावास, कन्सुलेट जेनेरलको अफिस, गैरआवासीय नेपाली संघ, एजुकेसन एजेन्ट, कलेज, विभिन्न अरू नेपाली संघसंस्था, नेपाली कम्युनिटी मिडियाले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् र अस्ट्रेलियामा रहेको नेपाली समुदायको अपेक्षा के छ भनेर बुझ्न सजिलो हुनेछ।’ 

उनले थपे, ‘विशेष गरी विद्यार्थीका समस्या बढी सुनिने गरेको कारण एजुकेसन एजेन्ट, एजुकेसन काउन्सिलर, माइग्रेसन एजेन्ट, कलेज सञ्चालकका लागि भने प्रत्यक्ष रूपमा विद्यार्थीका समस्या सुन्न पाउने र आफूले गल्ती गरेको भए त्यसले अर्को व्यक्तिको जिन्दगीमा कसरी असर गर्दोरहेछ भनेर नजिकबाट हेर्न पाउने र आफूलाई सुधार्ने अवसर पनि मिल्नेछ।’
 

सुझावित समाचार