आमाको विश्वास

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

चार वर्षीय एक बालक अलि कम सुन्थे । एक दिन उनी निराश हुँदै स्कुलबाट घर फर्किए । उनको खल्तीमा शिक्षकले एउटा पत्र राखिदिएका थिए । उनले त्यो पत्र आमालाई दिए । पत्र पढ्दै गर्दा आमाको अनुहार क्रोधले रातो भयो । किनकि पत्रमा लेखिएको थियो– तपाईंका छोरा निकै सुस्त र मन्दबुद्धिका छन् । उनले कुनै हालतमा पढ्न सक्दैनन् । हामीले उनलाई स्कुलबाट निकाल्ने निर्णय गरेका छौँ । भोलिदेखि उनलाई स्कुल नपठाउनुहोला ।

भोलिपल्ट बालककी आमा स्कुल पुगेर छोराको पक्षमा बोल्दै भनिन्– सरहरू, तपाईंहरूले सोचेजस्तो र मेरो छोरो सुस्त र मन्दबुद्धिको छैन । उसले सिक्न सक्छ भन्नेमा मलाई पूर्ण विश्वास छ । त्यसैले, सक्नुहुन्छ भने उसलाई स्कुलबाट ननिकालिदिनुहोस् । तर, आफूलाई लागेको विषयमा निर्णय लिन तपाईंहरू पूर्णतः स्वतन्त्र हुनुहुन्छ । तपाईंहरूले निकालिदिनुभयो भने पनि उसलाई म आफैँ पढाउनेछु । उनको कुरा सुनिसकेपछि पनि स्कुलले ती बालकलाई पढाउन नसक्ने निर्णय सुनायो । 

स्कुलले छोरालाई निकाले पनि आमा विचलित भइनन् । उनले घरमै छोरालाई पढाउन थालिन् । अन्ततः सुस्त र मन्दबुद्धिको भनी स्कुलबाट निकालिएका ती बालकले पढाइमा प्रगति गर्दै गए । स्कुलबाट निकालिएपछि उनी स्कुल त गएनन्, तर स्वाध्ययनबाटै प्रशस्त ज्ञान हासिल गरे र आफूलाई इतिहासकै अब्बल वैज्ञानिकका रूपमा स्थापित गर्न सफल भए । ती बालक अरू कोही नभई चर्चित वैज्ञानिक थोमस अल्बा एडिसन थिए । जसले जम्मा तीन महिना मात्र औपचारिक शिक्षा लिने मौका पाएका थिए ।

सुझावित समाचार