६ जना स्रष्टालाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

 नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट ६ जना स्रष्टा पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले आफ्नो १३औँ वार्षिकोत्सवमा आइतबार आयोजित कार्यक्रममा संगीत, नाटक तथा नृत्य विधाबाट ६ जना स्रष्टाको नाम घोषणा गरेको हो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सवमा पुरस्कृत व्यक्तिहरूको योगदानबारे चर्चासमेत गरियो । 

२०७९ संगीत विधातर्फ वरिष्ठ गायक तथा संगीतकार गणेश रसिक, लोकसंगीत विधातर्फ वरिष्ठ लोकगायक नवीनकिशोर राई र परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ वरिष्ठ संगीतसाधक विजयकुमार श्रेष्ठ पुरस्कृत भएका छन् । यस्तै, रंगमञ्च विधातर्फ वरिष्ठ नाटक निर्देशक भैरव क्षेत्री, नाटक विधातर्फ नाट्यकर्मी प्रा.डा. रामचन्द्र पोखरेल र नृत्य विधातर्फ वरिष्ठ लोकनृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने घोषणा गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किराँतीले गीतसंगीतमार्फत जनतालाई जगाउन र गणतन्त्र स्थापनाका लागि अब संस्कृति क्षेत्रमा ठूलो अभियान चलाउनुपर्ने बताए । सो प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रतिष्ठानले नेपाली गीत–संगीत, नृत्य तथा नाटकको क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको बताइन् । 

सुझावित समाचार