रविको आग्रह– संयमता अपनाऔँ, सञ्जालमा भड्किलो कमेन्ट नगरिदिनुहोला

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनमा संयमता अपनाउन सबैसँग आग्रह गरेका छन्।

चितवनमा भएको झडपलगायतका विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ सम्बोधन गर्दै उनले आफ्ना समर्थकलाई संयम बन्न र अन्य दललाई कार्यकर्तालाई संयम बनाउन आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले निर्वाचनलाई सुरक्षित बनाउन सबैलाई आग्रह गरेका छन् ।

‘हाम्रा समर्थक र स्वयंसेवक साथीहरू संयमित बन्नुहोला। अन्य प्रतिस्पर्धी राजनीतिक दललाई पनि आफ्ना कार्यकर्ताहरूलाई संयम राख्नुहुन अनुरोध गर्दछु। निर्वाचनमा सुरक्षित मर्यादा कायम राखिदिनुहोला। सामाजिक सञ्जालमा भड्किलो कमेन्ट नगरिदिनुहोला,’ उनले लाइभ सम्बोधनमा भने, ‘आउनुस् स्वस्थ प्रतिस्पर्धा गरौँ। भोलि विकास निर्माणमा सहकार्यको अवस्था रहन्छ। निर्वाचनका क्रममा योजनाबद्ध रूपमा रास्वपामाथि आक्रमण भएको छ। हाम्रा साथीहरू उत्तेजनामा नआइदिनुहोला । अन्य दलका शीर्ष नेताहरूले उम्मेदवार र कार्यकर्तालाई सम्झाउनुहोला। मसँगको प्रतिशोधलाई लिएर मतदातामाथि असर पर्ने गतिविधि नगर्नुहोला।’

सुझावित समाचार