नयाँ वर्षको पहिलो सातामा ३० अंकले घट्यो नेप्से

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

नयाँ वर्ष २०८० को पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। 

गत साता ६७.६८ अंकले बढेर १९३४.४७ विन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ। गत साता १९३४.४७ विन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० विन्दुमा झरेको छ। 

पछिल्लो सातामा भएको पाँच कारोबारमध्ये एक कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी चार कारोबारमा भने बजार घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन।

गत साता वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो। साताको पहिलो कारोबार दिन वैशाख ३ गते आइतबार, सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले वृद्धि भएको थियो। 

२०८० को पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा झरेको थियो । उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। 

आइतबार कारोबारमा आएका दुई सय ६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो। त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको थियो। 

नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो । सोमबार कारोबारमा आएका दुई सय ६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता सेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो।

त्यस्तै, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको थियो।  यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो।

मंगलबार कारोबारमा आएका दुई सय ६६ कम्पनीको २९ लाख ७० हजार कित्ता सेयर ८६ करोड ७६ लाख एक हजार रुपैयाँबराबरको कारोबार भएको थियो । तर, लगातार रूपमा घट्दै आएको नेप्से बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा पुगेको थियो। 

बुधबार कारोबारमा आएका दुई सय ७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो। 

त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा झरेको छ। बिहीबार नेप्सेसँगै कारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सीमित भएको छ । बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिँदासमेत पनि सेयर बजारमा खासै प्रभाव पर्न सकेन। 

अधिकांश बैंकले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यस साता नेप्सेको कुल बजार पुँजीकरण एक खर्बभन्दा बढी रुपैयाँले घटेको छ। गत साता एक खर्ब नाै अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता एक खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ। 
 

सुझावित समाचार