प्रचण्ड गर्मी भइरहने ठाउँमा पनि गर्मीको जोखिमलाई कम आँक्नु घातक हुन सक्छ । यही गल्तीका कारण भारतले केही दिनअघि प्राणघातक परिणाम व्यहोरेको छ । यही ३ वैशाखमा मुम्बईनजिकको एक बस्तीमा सरकारी कार्यक्रम आयोजन गरिएको थियो ।
प्रचण्ड गर्मीको माहोलमा लाखौँ मानिस खुला मैदानमा बसेर छहारीमुनि भाषण गरिरहेका नेतालाई सुनिरहेका थिए । सो दिनको सबैभन्दा नजिकको मौसम केन्द्रमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको थियो । बेलुका कार्यक्रम अन्त्य हुन्जेल कम्तीमा ११ जनाले गर्मी (हिट स्ट्रोक) का कारण ज्यान गुमाए (केही समाचार स्रोतले १३ जनासम्मको मृत्यु भएको जनाएका छन्) । त्यसैगरी ५० भन्दा बढी मानिस अस्पताल भर्ना भए । विगतमा एकै दिन एकै कार्यक्रममा यति धेरैको ज्यान बिरलै गएको थियो । अहिले गर्मीका कारण मारिनेको संख्या गणना गर्नै गाह्रो हुने अवस्था छ ।
आइतबारको घटना विश्व तापमान वृद्धिका कारण मुलुक दिनानुदिन जोखिमको गर्तमा जाकिँदै छ भन्ने खतराको घन्टी हो । गत वर्ष भारत लामो र दुष्कर गर्मीको लहरको मारमा परेको थियो र यो वर्ष गर्मी अस्वाभाविक रूपमा चाँडै सुरु भएको छ । यस वर्ष भारतले अभिलिखित इतिहासमै सबैभन्दा गर्मी फेब्रुअरी (माघ–फागुन) मा व्यहोरेको छ ।
आइतबारको घटनाको नालीबेली : आइतबार कार्यक्रमअघि कार्यक्रमस्थलवरपर गर्मीसम्बन्धी कुनै चेतावनी दिइएको थिएन, किनभने गर्मीको लहर आएकै थिएन । भारतीय मौसम विज्ञान विभागका अनुसार गर्मीको लहर तब सुरु हुन्छ, जब तापमान सामान्य तापमानभन्दा ४.५ डिग्री सेल्सियसले बढी हुन्छ । आइतबारको गर्मीलाई गर्मीको लहर भन्न नमिले पनि सो दिन घन्टौँसम्म खुला आकाशमा बस्न मिल्ने अवस्था थिएन । त्यसमाथि उच्चस्तरको आर्द्रता अर्थात् ६० देखि ७० प्रतिशतको आर्द्रताले थप जोखिम निम्त्याएको थियो ।
यस मामिलामा गर्मीसम्बन्धी चेतावनी दिने काम निकै चुनौतीपूर्ण देखिन्छ । केही तटीय क्षेत्रमा आर्द्रता आँकडालाई गर्मीसम्बन्धी चेतावनी दिन प्रयोग गर्न सकिन्छ । तर, आर्द्रता आँकडाको अनुमान सबै क्षेत्रमा समान ढंगले लागू हुँदैन । कार्यक्रम भएकै दिनको मध्याह्नमा मौसम विज्ञान विभागले सम्पूर्ण महाराष्ट्रमा तापक्रम बढ्ने चेतावनी दिएको थियो, तर सो चेतावनी पाँच दिनपछाडिका लागि जारी गरिएको थियो ।
जलवायु परिवर्तनको सबैभन्दा ठूलो जोखिममा पर्ने मुलुकमा भारत पनि पर्छ, त्यसमाथि भारतका विपन्न जनता सबैभन्दा ठूलो जोखिममा छन्
चेतावनी आउँदा कार्यक्रम पूर्ण उत्साहसाथ सञ्चालन भइरहेको थियो । कार्यक्रममा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसहित उच्चपदस्थ नेता उपस्थित थिए । गर्मीका कारण मानिसको ज्यान जाँदा यो ठूलो राजनीतिक दोषारोपणको मुद्दा बन्यो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्डेले आइतबारको घटनालाई दुर्भाग्यपूर्ण भन्दै खेद व्यक्त गरेका थिए र ज्यान गुमाउनेका परिवारलाई पाँच लाख रुपैयाँको राहत घोषणा गरेका थिए । विपक्षी दलले भने जाँचबुझको माग गरेका थिए ।
के पाठ सिक्ने त ? : यसले थुप्रै स्थानीय र राज्य सरकारमा प्रचण्ड गर्मीको खतरालाई लिएर तयारी नगरेको देखाउँछ । भारतको एक स्वतन्त्र थिंक ट्यांक सेन्टर फर पोलिसी रिसर्चले केही साताअघि नै सम्भावित जोखिमबारे प्रतिवेदन जारी गरेको थियो । थिंक ट्यांकले गर्मी लहरबारे विभिन्न माध्यमबाट चेतावनी दिने सरकारी व्यवस्थाको प्रशंसा गरेको थियो ।
तर, प्रतिवेदनले केही औँलामा गन्न सकिने स्थानीय एवं राज्य सरकारले मात्रै जनजीविकाको रक्षा गर्ने गर्मी लहरबारे पूर्व–चेतावनी दिने व्यवस्था लागू गरेको जनाएको छ । केही राज्यले भने चिस्यान केन्द्र स्थापना गर्ने र जल पहुँच बढाउने महŒवाकांक्षी योजना बनाएका थिए । तर, यी अधिकांश कार्यक्रममा पर्याप्त लगानी उपलब्ध हुन सकेन । त्यसैगरी केही सरकारले सबैभन्दा जोखिममा रहेका नागरिकको पहिचान नै गर्न सकेका छैनन् ।
प्रतिवेदननुसार लगभग सबै राज्यले ‘जोखिमबारे एकदमै सतही योजना’ बनाएका थिए । यसमाथि राज्य एवं स्थानीयस्तरका गर्मीसम्बन्धी पहलकदमी सार्वजनिक नहुनु सबैभन्दा चिन्ताको विषय हो । प्रतिवेदनका एक लेखक आदित्य भलियाथन पिल्लाईले फेब्रुअरीमा प्रतिवेदन तयार पार्दा महाराष्ट्र राज्यले गर्मीसम्बन्धी योजना पनि बनाएको थिएन । महाराष्ट्र सरकारले मार्चको अन्त्यताका मात्रै योजना अघि सार्यो । आइतबारको घटना हुँदा योजना लागू भए–नभएको पुष्टि हुन सकेको छैन । लागू भए–नभएको योजनामा कति तापक्रम एवं आर्द्रतालाई जोखिमयुक्त गर्मीको चेतावनी मान्ने भन्नेमा निर्भर छ । सामान्यतया अत्यधिक तापक्रम हुँदा मात्रै रेड अलर्ट अर्थात् चेतावनी दिइन्छ ।
अब के गर्ने ? : आउँदा दिनमा गर्मीको उग्रता बढ्दै जानेछ । जलवायु परिवर्तनको सबैभन्दा ठूलो जोखिममा पर्ने मुलुकमा भारत पनि पर्छ र त्यसमाथि भारतका विपन्न जनता सबैभन्दा ठूलो जोखिममा छन् । सन् २००२ मार्च (फागुन–चैत) मा भारतले अभिलेख राख्न थालेयता अर्थात् पछिल्लो एक सय २० वर्षकै अत्यधिक गर्मी व्यहोरेको थियो । गत वर्ष नै वैज्ञानिकले भारत र पाकिस्तानमा चाँडो गर्मी हुने सम्भावना ३० गुणाले बढेको बताएका थिए । यो साता भारतका कैयौँ हिस्सामा उग्र गर्मीसम्बन्धी चेतावनी दिइएका छन् । पश्चिम बंगाल राज्यमा सबै विद्यालय एवं कलेज बन्द गरिएका छन् । दिल्लीमा पनि प्रायः ४० डिग्री सेल्सियसको तापमान रेकर्ड भइरहेको छ ।
भारत मात्रैले पनि गर्मीको जोखिम व्यहोरिरहेको छैन । थाइल्यान्डले पनि इतिहासकै सबैभन्दा बढी तापमान वृद्धि देखेको छ । यही साता यहाँको तापमान ४५ डिग्री सेल्सियस पुगेको थियो । त्यसैगरी चीनका कैयौँ मौसम केन्द्रमा यो महिना कीर्तिमानीस्तरमा तापमान वृद्धि भएको छ ।
(सेन गुप्ता न्युयोर्क टाइम्समा आबद्ध अन्तर्राष्ट्रिय जलवायु पत्रकार हुन्) न्युयोर्क टाइम्सबाट