सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दा साइबर अपराध भनेको के हो ?
विद्युतीय उपकरण तथा त्यससँग सम्बन्धित सञ्जालहरूको दुरुपयोग गरेर गरिने अपराध नै साइबर अपराध हो । विभिन्न सामाजिक सञ्जालमार्फत अरूको व्यक्तिगत सूचनामा पहुँच पुर्याएर अनधिकृत काम गर्ने क्रम अहिले निकै बढेको छ ।
साइबर अपराध किन बढिरहेको छ त ?
पछिल्लो समयमा विद्युतीय उपकरण र त्यससँग सम्बन्धित सञ्जालहरूको प्रयोग तीव्र गतिमा बढेको छ । अरूका व्यक्तिगत विवरण तथा खाताहरूमा अनधिकृत पहुँच पुर्याएर त्यहाँका तथ्यांकको दुरुपयोग गर्ने क्रम बढेको छ । अर्काको खाता, वेबसाइट आदिको ह्याकिङ पनि बढेको छ ।
गैरकानुनी सामग्री सामाजिक सञ्जालमा राखेर अरूलाई बदनाम गराउनेहरूको जमात पनि बढेको छ । चिट्ठा परेको भन्दै गरिने ठगी पनि बढेको छ । कसैसँग बदला लिन या कसैबाट गैरकानुनी लाभ लिन कतिपयले जानीजानी यस्तो अपराध गरिरहेका छन् भने कतिपयचाहिँ अनजानमै पनि यस्ता अपराधमा सामेल भइरहेका छन् ।
यसको रोकथाम गर्ने विधि के हुन सक्छ ?
यस्तो अपराधमा सामान्यदेखि ‘डिजिटल्ली लिट्रेट’ सम्म फसिरहेका छन् । हामीले विद्यालय तहदेखि नै यसबारे सचेतना जगाउने काम गर्दै आएका छौँ । हाम्रो अभियान सातै प्रदेशमा पुगेको छ । यसको न्यूनीकरणका लागि सर्वसाधारण पनि सचेत हुनु जरुरी छ । अपरिचित मान्छेलाई विश्वास गरेर बैंक खाता तथा अन्य विवरण दिनु हुँदैन । कसैले यस्तो जानकारी मागेमा प्रहरीलाई तत्काल जानकारी गराउनुपर्छ ।