जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने ठूलीभेरी नदीमाथिको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुईजनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका– १२ को तल्लुबगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४ छरेबगर–डावा जोड्ने पुल बिहीबार भाँचिएको हो । पुल भाँचिँदा भारतको बहराइच जिल्लाको मधुवापुरका ३५ वर्षीय पुरुषोत्तम राजकुमार र ४० वर्षीय धर्मेन्द्र गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए ।
दुवैको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतको बहराइच जिल्ला मधुवापुरका ३२ वर्षीय सञ्जय गौतम, ६० वर्षीय राजकुमार हरिजन र ४९ वर्षीय गोपाल हरिजन रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा परी घाइते भएका अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते हुनेमा भारत बहराइच मधुवापुरका ५० वर्षीय मैकु गौतम, ३२ वर्षीय गोरख नाथ, १९ वर्षीय सोनु चमार र क्रेनचालक नवलपरासीका २५ वर्षीय नीरजकुमार चौधरी छन् । उनीहरूको दल्ली प्राथमिक स्वास्थ्य केन्द्र जाजरकोटमा उपचार भइरहेको छ ।

भेरी करिडोरअन्तर्गत नदीमाथिको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । जाजरकोट पट्टीबाट रुकुम पश्चिमतर्फ पुल निर्माणको काम सकिँदै थियो । तर, निर्माणाधीन पुलमै क्रेन चढाएपछि दुर्घटना भएको देखिएको रुकुम पश्चिम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए । ‘निर्माणाधीन पुलमा लापरबाही गरेर क्रेन लिएकै कारण दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘सबै नटबोल्ट नकस्दै र निर्माण नसकिँदै ठूलो क्रेन पुलमा लग्नु नै गम्भीर लापरबाही भएको देखिन्छ ।’
अनुमानका भरमा काम गर्दा गम्भीर दुर्घटना निम्तिएको उनको भनाइ छ । ‘पुलले क्रेन धानिहाल्ला नि भनेर अनुमान गरिएको देखियो, यति ठूलो क्रेन आधा निर्माण भएको पुलले धान्ने कुरै भएन,’ उनले भने, ‘अनुमानका भरमा काम गर्दा दुर्घटना घटेको देखिन्छ ।’ यसबारे अनुसन्धान सुरु भएको डिएसपी भट्टराईले बताए ।
पुल निर्माणको जिम्मा हिमशिखर खड्का कृष्ण जेभीले तीन करोड ८४ लाखमा लिएको छ । यसका ठेकेदार बुद्धिबहादुर खत्री हुन् । वर्षौँदेखि पुल बन्ने आशामा रहेका जाजरकोट, रुकुम पश्चिम र डोल्पावासी पुल निर्माण अन्तिम चरणमा पुगेपछि खुसी भएका थिए । तर, एक्कासि पुल भाँचिएपछि निराश बनेका छन् ।