नेपालगन्जको त्रिभुवन चोकलाई ‘फुड लेन’ बनाउने तयारी

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

स्थानीय परिकारलाई चिनाउन नेपालगन्जको त्रिभुवन चोकलाई ‘फुड लेन’ बनाउने तयारी थालिएको छ। स्थानीय परिकारलाई एकै ठाउँबाट बिक्री गर्ने वातावरण मिलाउन त्रिभुवन चोक क्षेत्रलाई ‘स्ट्रिट फुड’ अर्थात् ‘फुड लेन नेपालगन्ज’ बनाउने प्रक्रिया अगाडि बढाइएको नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए।

त्रिभुवन चोक क्षेत्रलाई फुड लेन बनाउन नेपालगन्ज उपमहानगरपालिका र सरोकारवाला निकाय सहमत भएको उनको भनाइ छ। नेपालगन्जको त्रिभुवन चोक पुरानो र नाम चलेको बजार हो । उक्त क्षेत्रमा नेपालगन्जको पहिचान झल्किने पानीपुरी, चाट, रावडी, घमन्जा, बिर्यानी, पान, दहीबडाजस्ता परिकार खान पाइन्छ। ‘व्यवस्थित रूपमा बिक्री गर्ने ठाउँ नहुँदा यी परिकारलाई ब्रान्डिङ गर्न सकिएको छैन,’ उनले भने, ‘फुड लेनले बजारलाई व्यवस्थित बनाउने छ नै। परिकारको ब्रान्डिङ गर्न सघाउनेछ।’

परिकारलाई व्यवस्थित रूपमा एकै ठाउँमा राख्दा यसको ब्रान्डिङ हुने र नेपालगन्जको आर्थिक अवस्था माथि उठाउन मद्दत मिल्ने विश्वास लिइएको छ। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले त्रिभुवन चोकको करिब डेढ सय मिटरवरिपरिको क्षेत्रलाई ‘फुड लेन’ बनाउने तयारी अगाडि बढेको बताए।

उनले नेपालगन्जलाई चिनाउन र यहाँको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन त्रिभुवन चोक क्षेत्रलाई फुड लेन बनाउन लागेको बताए। पहिलो चरणमा रातको  १२ बजेसम्म फुड लेन सञ्चालनमा ल्याउने तयारी भएको उनको भनाइ छ। माओवादी द्वन्द्वकालअघि नेपालगन्जको त्रिभुवन चोकमा रात्रिबजार सञ्चालनमा थियो।

सुझावित समाचार