घरलाई सुन्दर बनाउन बगैँचाको महत्वपूर्ण भूमिका हुन्छ । तर, सहरी क्षेत्रमा थोरै जग्गामा घर बनाइन्छ । त्यसकारण जग्गाको क्षेत्रफल कम हुँदा बगैँचा कसरी बनाउने भन्ने अधिकांशलाई चिन्ता हुन्छ । तर, थोरै क्षेत्रफल भएको जग्गा पनि फलफूलका सुन्दर बगैँचा बनाउन सकिन्छ । थोरै ठाउँमा कुन–कुन प्रजातिको फलफूल रोप्ने भन्नेबारे ज्ञान हुन जरुरी हुन्छ ।
- बगैँचाका लागि धेरै जग्गा आवश्यक पर्दैन । त्यसैले चार–पाँच आनाको जग्गामा थोरै स्पेस राखेर पनि फलफूलको बगैँचा बनाउन सकिन्छ । त्यसैले आफ्नो रुचिअनुसार फूल फुल्ने र नफुल्ने बिरुवा रोपेर घर आकर्षक बनाउन सकिन्छ ।
- अहिले मौसमी फूलहरूले बगैँचा सजाउने क्रम बढ्दो छ । थोरै ठाउँमा पनि धेरै प्रजातिका फलफूल रोप्दा हुन्छ । सुन्तला, मुन्तला, कागती, भोगटे, चेरी, स्याउ, आरुबखडालगायत विभिन्न प्रजातिका बिरुवा रोप्न सकिन्छ । ग्राफ्टिङ टेक्नोलोजीमार्फत नेपालमा पनि एउटै रूखमा धेरै थरीका फलफूल फलाउन सकिन्छ ।
- मौसमी फूलले बगैँचाको सुन्दरतामा रौनक थप्ने मात्र होइन, मानिसलाई मौसम परिवर्तनको महसुस पनि गराउँछ । थोरै क्षेत्रफल भएको जग्गा पनि आकर्षक देखाउन सहयोग गर्छ । साथै, घरमा हरियाली देखाउन पनि सकिन्छ । प्रदूषण कम गर्ने, अक्सिजनको मात्रा बढाउन पनि सहयोग पुग्छ । त्यसैले सहरी क्षेत्रमा घर भएकाले घर बनाउनुअघि नै थोरै जग्गा छाडेर बगैँचा बनाउनु उपयुक्त हुन्छ ।