आमा : ईश्वरले पठाएको देवदूत

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

एकपटक एउटा बच्चाको जन्मिने समय भएको थियो । जन्मअघि उसले ईश्वरसित सोध्यो– प्रभु, म यति सानो छु । आफैँ केही गर्न सक्दिनँ । यस्तो अवस्थामा म धर्तीमा कसरी बाँचुँला ? कृपया मलाई आफ्नो साथमै बस्न दिनुहोस्, म कहीँ जान चाहन्नँ ।
ईश्वरले भने– मेरो साथमा थुप्रै देवदूत छन् । तिनैमध्ये एकलाई मैले तिम्रा लागि चयन गरेको छु । उसैले तिम्रो ख्याल राख्नेछ । बालकले भने– म यहाँ स्वर्गमा केही गर्न सक्दिनँ या गर्दिनँ । यहाँ मेरा लागि गीत गाउने र मुस्कुराइदिने धेरै छन् । तर, त्यहाँ धर्तीमा मेरा लगि यो सब कसले गर्ला र ? 

ईश्वरले भने– तिम्रा लागि त्यही देवदूतले गाउनेछ, मुस्कुराउनेछ, तिमीलाई खुवाउने, पियाउने र बोल्न तथा हिँड्न सिकाउनेछ । तिमीले उसको प्रेम महसुस गर्नेछौ र खुसी हुनेछौ । बालकले भने– त्यो सब त ठिक छ । तर, जब त्यहाँका मानिसले मसँग कुराकानी गर्नेछन्, तब मैले कसरी त्यो बुझ्न सकुँला ? म उनीहरूको झाषा बुझ्दिनँ । ईश्वरले भने– तिम्रो देवदूतले तिमीसँग सबैभन्दा मधुर र प्रिय शब्दमा कुराकानी गर्नेछ, जुन शब्द सायद तिमीले कहिल्यै सुनेका छैनौ । देवदूतले बडो सावधानीसाथ तिमीलाई बोल्न, हिँड्न र खान पनि सिकाउनेछ । बालकले पुनः प्रश्न गरे– अनि मलाई तपाईंसित संवाद गर्न मन लाग्यो भने चाहिँ के गर्ने नि ? 

ईश्वरले जवाफ दिए– तिम्रो देवदूतले तिमीलाई हात जोडेर प्रार्थना गर्न सिकाउनेछ । त्यसैमार्फत तिमीले मसँग संवाद गर्न सक्नेछौ । बालकले पुनः प्रश्न गरे– धर्तीमा खराब मान्छे पनि हुन्छन् भन्ने सुनेको छु । अनि, मलाई त्यस्ता मानिसबाट कसले बचाउँछ ? तिम्रो देवदूतले नै तिमीलाई बचाउनेछ । यसका लागि आफ्नो ज्यान खतरामा पारेरै भए पनि उसले तिमीलाई जोगाउनेछ । 

बालकले पुनः चिन्तित हुँदै भने– प्रभु, हजुरलाई देख्न नपाउँदा म दुःखी हुनेछु । ईश्वरले भने– तिमी यसको चिन्ता नलेऊ । तिम्रो देवदूतले तिमीसँग जहिल्यै मेरा बारेमा बताउनेछ र तिमी पुनः मेरो साथमा कसरी आउन सक्छौ भन्ने पनि सिकाउनेछ । अन्तिममा बालकले प्रश्न गरे— जब म धर्तीमा जानु नै छ भने कृपया त्यो देवदूतको नाम पनि बताइदिनुहोस् न प्रभु ! ईश्वरले हाँस्दै भने– देवदूतको नाम जे नै भए पनि के भयो र ? तैपनि, तिमी उसलाई ‘आमा’ नामले पुकार्नेछौ ।

सुझावित समाचार