कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकामा रहेको भानु माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ पढाइ हुने भएको छ। लालझाडी– २ मा रहेको भानु माविमा चालू शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ पढाइ हुने भएको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको गत २९ चैत्रमा मन्त्रिस्तरीय निर्णयबाट प्राविधिक धारतर्फ ९–१२ कक्षामा सिभिल इन्जिनियरिङ पढाइको अनुमति दिने निर्णय गरेको थियो। भानु माविका प्रधानाध्यापक बेदप्रसाद उपाध्यायले विद्यालयबाट माग भएबमोजिम मन्त्रालयले अनुमति दिएको बताए। प्रअ उपाध्यायले सीधै मन्त्रालयबाट अनुदान उपलब्ध गराउने गरी इन्जिनियरिङ विषय पठनपाठन गराउने भानु मावि कञ्चनपुरकै पहिलो भएको दाबी गरे।
भानु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रानाले ग्रामीण भेगमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजनाअनुरूप शिक्षा मन्त्रालयबाट अनुमति पाएसँगै चालू शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन हुने बताए। तेस्रो कार्यकालका लागि अध्यक्ष रानाले ग्रामीण थारू बाहुल्य बस्तीमा प्राविधिक शिक्षा सञ्चालन गर्ने आफ्नो योजना सरकारले अहिले आएर पूरा गरेको बताए।
गाउँमै प्राविधिक शिक्षा सञ्चालन हुने भएपछि स्थानीयसमेत हर्षित भएका छन्। स्थानीय गम्बर रानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको मन्त्रालयबाट ग्रामीण भेगको विद्यालयमा प्राविधिक धार कक्षा सञ्चालनका लागि अनुमति दिने निर्णयबाट गाउँबासी खुसी भएको बताए।
यसअघि गाउँमा प्राविधिक धारका विद्यालय नहुँदा लालझाडीका विद्यार्थी मोटो रकम खर्च गरेर अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो।