निर्यातमा थप नगद अनुदान दिन परिसंघको आग्रह

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूमार्फत स्वदेशीको सामूहिक लोगो प्रयोग गरेर निर्यात गर्दा थप १ प्रतिशत नगद अनुदान दिन माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरूको उपस्थितिमा आइतबार राजधानीमा भएको स्वदेशी मिट एन्ड ग्रिट कार्यक्रममा परिसंघका अध्यक्ष्य विष्णुकुमार अग्रवालले यस्तो बताएका हुन् । उनले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा सकारात्मक वातावरण निर्माण गर्न, उद्योगी–व्यवसायीमा उत्साहप्रद वातावरण बनाउन परिसंघ लागिपरेको बताए ।   

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापनका लागि मेक इन नेपाल स्वदेशी अभियान महत्वपूर्ण रहेको बताए । उनले स्वदेशी उद्योगहरूको प्रवद्र्धनका लागि आगामी बजेटमार्फत गरिनुपर्ने सम्बोधनका विषयमा सुझाव दिन आग्रह गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको समन्वय अपरिहार्य रहेको बताए । 

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतमा झरेको बताए । त्यो अवस्थामा जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

यस्तै, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले मेक इन नेपाल स्वदेशीको सामूहिक टे«डमार्क दिने प्रक्रिया जतिसक्दो चाँडो टुंगोमा पु¥याइने बताए । कार्यक्रममा स्वदेशी सदस्यहरूले उठाएका ड्युटी ड्र ब्याकमा देखिएको समस्या आगामी बजेटमार्फत सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक लगानीको अनुमतिमा उल्लेख्य सुधार ल्याई तदारुकताका साथ विनाअवरोध उद्योग दर्ता र एफडिआइको अनुमतिलाई सरलीकरण गरेको बताए । 

परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल तथा उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगी–व्यवसायीको समस्या, ठोस रूपमा समाधानको उपायसहित सदस्यहरूबीच नेटवर्किङ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।  कार्यक्रममा स्वदेशीका सदस्यहरूबीचको वस्तु खरिद आदान–प्रदान गर्ने, स्वदेशीका वस्तुबारे आमउपभोक्तालाई सहज एवं सरल रूपमा जानकारी गराउने उद्देश्यले बिटुबी वेबसाइटको लन्च गरिएको छ । उद्योग सचिव डा. ज्ञवाली र परिसंघका अध्यक्ष अग्रवालले संयुक्त रूपमा वेबसाइट शुभारम्भ गरेका थिए ।

कार्यक्रममा जुत्ता–चप्पल उद्योग, मदिरा उद्योग, सूचना प्रविधि, स्टिल तथा आल्मुनियम उद्योग, पेन्ट उद्योगका स्वदेशी सदस्यहरूले उद्योगहरूले भोगिरहेको समस्या र समाधानका विषयमा प्रस्तुतीकरण दिएका थिए । 

See More On

सुझावित समाचार