आक्रामक प्रचार र आकर्षक एजेन्डासहित उपनिर्वाचन हुने तीनवटै क्षेत्रका उम्मेदवार मैदानमा, तर कसका मुद्दा मतदाताले अनुमोदन गर्छन् १० वैशाखको मतदानअघि अनिश्चित
तनहुँ १ : तीनै उम्मेदवारको एजेन्डा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा
कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ १ को उपनिर्वाचन नतिजा आफ्नो पक्षमा पार्न प्रमुख दलका उम्मेदवार अन्तिम कसरतमा छन् । २० चैतमा मनोनयन दर्ता गरेका उम्मेदवार त्यसको भोलिपल्टदेखि नै घरदैलोमा व्यस्त छन् । उम्मेदवार मतदाता रिझाउन एजेन्डा लिएर गाउँ पसेका छन् ।
उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच टक्कर हुने देखिएको छ । आफ्नो पकड क्षेत्रसमेत रहेको र पाँचदलीय गठबन्धनको साथ रहेकाले सहजै जित निकाल्ने आकलन कांग्रेस नेताहरूको छ, तर हालै मात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थशास्त्री वाग्ले उनीसामु चुनौती बनेका छन् ।
भट्टराई युवापिँढी र ज्येष्ठ नागरिकसँग भेटघाट गरिरहेका छन् भने खनाल बन्दीपुरमा व्यस्त छन् । रास्वपाका वाग्ले भानु नगरपालिकाको विभिन्न ठाउँमा पुगेका छन् । उनले पनि घरदैलोलाई तीव्रता दिएका छन् ।
भट्टराईले प्रतिस्पर्धीहरूलाई पाहुनाको संज्ञा दिएका छन् । उनले बाहिरबाट आउनेलाई मीठो खान र राम्रोसँग बस्न दिनुपर्ने, तर भोटचाहिँ स्थानीयसँग घुलमिल भएकोलाई दिनुपर्ने भन्दै मतदातासँग आग्रह गरेका छन् ।
भट्टराईले समग्र विकास र समृद्ध तनहुँ आफ्नो एजेन्डा रहेको बताए । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा पूर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा पर्छ । म कुनै पदमा नरहँदा पनि विकास निर्माणको काममा पहल गरिरहेको छु । विशेषगरी खानेपानीको क्षेत्रमा काम गरेको छु । गाउँगाउँमा देखिएका खानेपानीको समस्या समाधानमा मैले धेरै काम गरिरहेको छु,’ उनले भने, ‘त्यस्तैगरी बिजुली, बाटोघाटोलगायतका विषयमा पनि मेरो पहल छ । समृद्ध तनहुँ बनाउने मेरो अभियान हो ।’
एमाले उम्मेदवार खनाल रोजगारी कृषि र पर्यटनमा जोड दिने बताउँछन् । उनले भावनात्मक सम्बन्ध पनि जोडेर मत मागेका छन् । ‘म यही माटोमा जन्मेको हुँ, कसैले बाहिरको हो भन्नेहरू छन् । मैले त देशबाहिर युएनमा जाँदा पनि राष्«टको झन्डा फहराएर आएको छु । हिजोको अवस्था फरक थियो अहिले छुट्टै परिवेशमा निर्वाचन लड्दै छु । मैले तीन दशकसम्म काम गर्दैगर्दा यहाँ आउने जाने गरिरहेको छु,’ उनले भने, ‘मेरा घरजग्गा यही नै छन् । यहाँको भावनासँग म जोडिएको छु । यहाँको विकासका लागि पनि मैले काम गरिरहेको छु । मेरो विशेष पहल युवाहरूलाई कसरी रोजगारी दिलाउन सकिन्छ भन्नेतर्फ रहन्छ । कृषि, पर्यटन पनि उत्तिकै प्राथमिकतामा रहन्छ ।’
रास्वपा उम्मेदवार वाग्ले आफूले पाँचवटा मुद्दा उठाएको बताउँछन् । ‘तनहुँको विकास नै मेरो पहिलो प्राथमिकता हुन्छ । यसबाहेक सडक, शिक्षा, स्वास्थ्य र पोषण हो,’ उनले भने, ‘महिलाका स्वास्थ्य, विद्यालयको शिक्षा, शिक्षक दरबन्दी, कृषि, सिँचाइ र खानेपानीका मुद्दा छन् ।’ वाग्लेले यसबाहेक आफ्ना एजेन्डा सुनाए, ‘राजमार्गसँग जोडिएको ठाउँ भएकाले यहाँ उद्योग र व्यापार महत्वपूर्ण रहन्छ । तर, दिगो आयको स्रोतका रूपमा कृषि उच्च महत्वपूर्ण छ । देवघाट, बन्दीपुर, तनहुँसुर, भानुलगायतका ठाउँ सुन्दर भएकाले यसको विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ । म तनहुँबाट निर्वाचित भए भने देश विकासका लागि काम गर्छु ।’
चितवन २ : एमाले र कांग्रेस उम्मेदवारको मत माग्ने एजेन्डा एउटै, रास्वपा भावी पुस्ताको भविष्य देखाउँदै
उपनिर्वाचनको मिति नजिकिँदै जाँदा चितवन ‘इपिसेन्टर’ बनेको छ । ४ मंसिरको चुनावजस्तै चितवन उपनिर्वाचनको परकम्प देशभर छ । युवा उम्मेदवारको भिडन्तले निर्वाचन रोचक हुँदै छ । कांग्रेस र एमाले उम्मेदवारका एजेन्डा एउटै छ । रास्वपा भने आफ्नो औचित्य पुष्टि गर्ने प्रयासमा छ ।
उपनिर्वाचनका लागि चितवन २ मा दुई महिलासहित २२ उम्मेदवार छन् । राजनीतिक दलका १२ र स्वतन्त्र उमेदवार १० जना हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धाको मैदानमा छन् । तर, यहाँ तीन दलका युवाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ र एमालेबाट उम्मेदवार बनेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको मत माग्ने एजेन्ड प्रायः एउटै छ, ‘कसको गल्तीका कारण उपनिर्वाचन हुँदै छ भन्ने कुरा हेक्का राखेर मतदान गर्नुस् ।’
रास्वपा सभापति रवि लामिछाने ४ मंसिरमा भएको निर्वाचनमा मुलुकभरमै सबैभन्दा धेरै मतान्तर (३४ हजार तीन सय १२) ले निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा सर्वाेच्च अदालतको फैसलासँग सांसद पद गुमेको थियो । त्यही भएर यहाँ उपनिर्वाचन हुन लागेको हो । कांग्रेस उम्मेदवार श्रेष्ठ र एमाले उम्मेदवार न्यौपाने लामिछानेलक्षित भाषण गर्दै घरदैलोमा रहेका वेला लामिछाने भने फराकिलो मतान्तरले जित निकाल्ने दाउमा छन् ।
चितवनमा एमाले र कांग्रेस आफ्ना नेता तथा कार्यकर्ताको भोट सकभर रास्वपामा जान नदिने कसरतमा छन् भने रास्वपा भने ठूलो मतान्तरले जितेको पुरानो बिरासत कसरी जोगाउने भन्ने चिन्तामा देखिन्छ । कांग्रेस उम्मेदवार श्रेष्ठ ४ मंसिरको निर्वाचन परिणाम सच्चाउने वेला आएको बताउँछन् । ‘चितवनको माटोमा गरेको काम, यहाँका जनताको सुखदुःखमा दिएको साथ र चितवनको भूगोल बुझेकै कारण यो निर्वाचनमा मेरो जित सुनिश्चित छ । गठबन्धन एक ढिक्का छ । सेवक भएर जनताको बीचमा जान्छु भनेर २७ वर्षदेखि लाग्दै आएको छु । अघिल्लो परिणाम हाम्रो पक्षमा रहेन । जसको पक्षमा परिणाम आयो ती मान्छे योग्य थिएन भनेर अहिले प्रश्न आएको छ,’ उनले भने ।
एमाले उम्मेदवार न्यौपानेले निर्वाचन कसका कारण भएको हो भन्ने प्रश्नमा केन्द्रित भएर मत मागेका छन् । ‘जितेर गएका सांसद कति ‘इथिकल’ हुनुहुँदोरहेछ भन्ने कुरा त प्रमाण देखापरेका छन् । यो निर्वाचन कसका कारण भएको हो ? अहिले जनताले त्यो विषयलाई राम्रोसँग बुझ्नुभएको छ । चितवनको आन्दोलनमा लागेको, यहाँको दुःख–सुखमा जोडिएको व्यक्ति उम्मेदवार बनेको भन्दै शुभकामना पाएको छु,’ उनले भने ।
लामिछाने भने अघिल्लो चुनावमा सहरी क्षेत्रमा पाएको भोटलाई कायम राख्दै पहाडी क्षेत्रमा पकड बढाउने रणनीतिमा छन् । विगतजस्तै कांग्रेस र एमालेका मतदातालाई आफ्नो पक्षमा ल्याउन रास्वपाका कार्यकर्ता सक्रिय भएर लागेका छन् । लामिछानेले मंसिरमा विजयी भए पनि काम गरेर देखाउने अवसर नपाएकाले यसपालि अवसर दिन मतदातालाई आग्रह गरेका छन् । भ्रष्टाचारको विषयलाई चुनावको मुख्य मुद्दा बनाएका छन् । लामिछानेले आफ्नो सम्बोधनमा गृहमन्त्री रहँदा जुनसुकै समयको भ्रष्टाचारको फाइल खोलिदिन्छु भनेकै कारण फसाउने प्रयास भइरहेको जनतासँग बताउँदै आएका छन् ।
रास्वपा उम्मेदवार लामिछानेले आउँदो पुस्ताको सुन्दर भविष्य कोर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन् । ‘व्यक्तिलाई नभई अभियानलाई समर्थन गर्न पनि मेरो जित आवश्यक छ । भ्रष्टाचारी, विवादमा परेकालाई मैले आँखा लगाएको छु । समृद्धि, सुशासन, भावी पुस्ताको सुन्दर भविष्य कोर्न, पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुत गर्दै लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न तथा नयाँ पुस्ताको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो,’ उनले भने ।
बारा २ : चार दलकै उम्मेदवारले बनाए विकासलाई एजेन्डा
जसपाका तत्कालीन सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि रिक्त बारा २ को उपनिर्वाचनका उम्मेदवार विकास, सुशासन, स्वास्थ्य र शिक्षाका मुद्दा लिएर चुनावी मैदानमा छन् । उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार र राजनीतिक दलको दौडधुपले चुनावी माहोल तातेको छ । १० वैशाखमा हुने उपनिर्वाचनमा यहाँ २४ स्वतन्त्रसहित ३४ उम्मेदवार छन् ।
४ मंसिरमा जनमतका अध्यक्ष सिके राउतसँग पराजित भएका उपेन्द्र यादव र माओवादी छाडेर जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुसवाह मुख्य प्रतिस्पर्धी देखिएका छन् । यादव अघिल्लो हारको बदला लिँदै जसरी पनि संसद् पुग्न चाहन्छन्, उनलाई सत्तागठबन्धनभित्रको पाँचदलीय साथ छ ।
४ मंसिरमा माओवादीबाट उम्मेदवार हुँदा जसपाका रामसहायसँग झिनो मतले हारेका कुसवाह जसरी पनि जित निकाल्ने दाउमा छन् । अघिल्लो चुनावमा काठमाडौं १ बाट पराजित भएर अहिले बारामा रास्वपाबाट उम्मेदवार बनेका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेल पनि प्रतिस्पर्धी उम्मेदवार हुन् । खरेल सुशासन पार्टीका अध्यक्ष हुन् ।
जसपा उम्मेदवार यादवले विकास नै चुनावी मुद्दा रहेको बताए । ‘मधेसमा रहेका मधेसी, दलित, जनजाति, मुस्लिम र अल्पसंख्यकको हक–अधिकार र आर्थिक अवस्था उकास्न पहिलो चरणमा काम गर्छु । मधेस प्रदेश पिछडिएकाले यहाँका स्थानीयको शिक्षा, स्वास्थ्य, रोजगार, आवास र खानेपानीलगायतको माग पूरा गराउने मेरो एजेन्डा हो । मधेस आन्दोलनले मधेसका जातजातिको पहिचान स्थापित गरिसकेको छ । अब विकास नै चुनावी मुद्दा हो,’ उनले भने ।
एमालेका पौडेलले विकास आफ्नो प्रमुख मुद्दा रहेको बताए । ‘विकासको एजेन्डा नै एमालेको हो, एमालेबाहेक कसैले विकास गर्न सक्दैन । अधुरो रहेका सडक बनाउने, स्वास्थ्य क्षेत्रको विकास गर्न अस्पताल, रोजगारीको अवसर दिने मुख्य एजेन्डा हुन् । बारा २ मा यसअघि निर्वाचित भएकाले काम गर्न सकेनन्, त्यसैले अब एमालेलाई मत दिनुपर्छ,’ उनले भने ।
जनमतका उम्मेदवार कुसवाहले स्थानीय नेताले विकास गर्न सक्ने एजेन्डालाई जोड दिएका छन् । ‘म विकास पुरुष हो, यसपटक जनताले मलाई निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ । रोजगारी, विकास, स्वास्थ्य, शिक्षासहितको पछाडि रहेको बारा २ लाई अगाडि बढाउन उम्मेदवार बनेको हुँ । जनमत पार्टीलाई बहुमत जनताको साथ छ । यहाँको विकास बाहिरियाले होइन, स्थानीयले नै गर्छ भन्ने जनताले बुझेका छन्,’ उनको भनाइ छ ।
रास्वपाका खरेलले रोजगारी, सिँचाइ र सडक मुख्य एजेन्डा रहेको बताए । ‘मेरा मुख्य चुनावी एजेन्डा रोजगारी, सिँचाइ र सडक हुन् । सीमाक्षेत्रदेखि मुख्य सडकसम्म बाटोको अवस्था दयनीय छ । मलको अभाव पूर्ति र सिँचाइको उचित व्यवस्था मिलाएर कृषि उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘युवा बिदेसिने क्रम बढ्दो छ, यो क्रम रोक्न उद्योग, कलकारखाना बढाएर रोजगारीको सिर्जना गर्नुपर्नेछ । बाराको विकास, कृषि, शिक्षा, रोजगारी, खेलकुद तथा जिल्लाका पवित्र धार्मिक स्थलको संरक्षण र प्रवद्र्धन चुनावी एजेन्डा हो ।’