नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले संसद्का विषयगत समितिहरू बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
समिति नहुँदा समग्र संसदीय प्रक्रियामा नै गतिरोध उत्पन्न भएको उल्लेख गर्दै उनले दलहरू जिम्मेवार बन्नुपर्ने बताए।सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्सँग डराएको भन्दै प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ संसद्बाट दिनुपर्नेमा जोड दिए।
‘कार्यपालिकाले संसद्लाई छलेर हिँड्नुहुँदैन। सदनदेखि प्रधानमन्त्री डराउनुहुँदैन। सांसदहरूले उठाएका देश र जनताकेन्द्रित मुद्दाहरूको बारेमा सदनमा आएर जवाफ दिने आँट, हिम्मत प्रधानमन्त्रीले गर्नुपर्छ। तर, उहाँले यो हिम्मत गरिरहनुभएको छैन। प्रधानमन्त्रीले र मन्त्रीहरूले नियमित रूपमा सांसदको प्रश्नको जवाफ दिनुपर्छ। सरकार संसद्प्रति पूर्ण जवाफदेही हुनुपर्छ,’ उनले भने।