धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। एक सातादेखि उपचाररत कञ्चनपुरकी ७३ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरका अनुसार ती महिला मुटुसम्बन्धी रोगबाट पीडित थिइन्।
बिरामी भएपछि गत २४ चैतमा उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। २६ चैतमा कोरोना संक्रमण रहेको पुष्टि भएकी ती महिलालाई आइसियूमा राखेर उपचार थालिएको थियो।
कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा पुगेपछि सुदूरपश्चिममा करिब एक वर्षयता संक्रमितको मृत्युदर शून्यमा झरेको थियो।
पछिल्ला केही दिनयता भने कोरोना संक्रमण बढ्दो छ। भारतमा कोरोना संक्रमणदर बढेसँगै भारतबाट फर्कने नेपालीमा पनि संक्रमण देखिन थालेको छ।