काठमाडौं उपत्यकासहित देशभर एक सातादेखि वायु प्रदूषण उच्च छ । देशभरका जंगलमा फैलिएको डढेलोका कारण काठमाडौं उपत्यकासहितका सहर वायु प्रदूषणको चपेटामा परेका हुन् । तराईसहितका सहरमा दिउँसो प्रदूषण घटिरहे पनि काठमाडौं उपत्यकामा थिग्रिएको प्रदूषणका कण बाहिरी निस्किन नसक्दा बाह्य वातावरण खराब बनेको हो ।
वातावरण विभागका रसायनशास्त्री शंकर पौडेलका अनुसार पछिल्लो समय नेपालहित दक्षिण एसियाली मुलुक नै डढेलोको चपेटामा छन्, जसकारण यस क्षेत्रमा प्रदूषण पनि उच्च छ । तर, काठमाडौंसहित नेपालमा हाल कायम प्रदूषण यस क्षेत्र (मुलुक)कै उत्सर्जन रहेको उनले बताए । ‘हिउँदमा पानी कम पर्याे, त्यसले डढेलो बढाएको छ,’ उनले भने, ‘डढेलाको धुवाँ देशभर फैलिएको छ । काठमाडौं भित्रिएको धुवाँ वायुमण्डलमा तैरिएर बसेको छ । बाहिर निस्कन पाएको छैन ।’
उपत्यकामा गत मंगगलबारदेखि प्रदूषण उच्च भएको हो । तराईमा भने यसअघि नै प्रदूषण उच्च थियो । पछिल्लाे एक सातादेखि नेपालका वनजंगलमा दैनिक ६ सयभन्दा धेरै ठाउँमा डढेलो लाग्ने गरेको छ ।
आइतबार दिउँसो काठमाडौंमा एयर क्वालिटी इन्डेक्स (वायुको गुणस्तरको मात्रा) २०८ पुगेको छ । जुन मानव स्वास्थ्यका निकै अस्वस्थकर मानिन्छ । दुई सय नाघ्नु भनेको सबै उमेर समूहका व्यक्तिको स्वास्थ्यलाई असर गर्छ । यो मात्रा एक सय ५१ देखि दुई सय हुँदा सबै उमेर समूहकालाई खुला ठाउँमा लामो समयसम्म नबस्न भनिन्छ, १०१–१५० सम्म हुनुलाई संवेदनशील प्रकृति भएका (मुटु र फोक्सोसम्बन्धी समस्या भएका, वृद्धवृद्धा र बालबालिका) लाई खोकी लाग्ने वा श्वास फेर्न समस्या हुने गर्छ । तर, शून्यदेखि ५० सम्मको मानलाई भने सामान्य मानिन्छ ।
पिएम २.५ र पिएम १० को तथ्यांकलाई एक्युआई भ्यालुमा परिवर्तन गरेर कलर कोड गरेर राखिन्छ । एक्युआई भ्यालु तीनदेखि १२ घन्टाको दौरानमा हावामा प्रदूषणको कणको घनत्व फरक भएका वेला मापन हुन्छ भने पिएम २.५ को मात्रा हरेक घन्टा र २४ घन्टामा निकालिन्छ । तर, प्रदूषणको मात्राको औसत मापदण्ड भने २४ घन्टालाई आधार मानेर तय गरिन्छ । यो सूचकांक हावामा रौँभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पिएम २.५) मा मापन गर्दा नेपालमा २४ घन्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर बढ्दा अस्वस्थकर मानिन्छ ।
तत्काल हावाहुरी वा वर्षा नभए प्रदूषण घट्ने सम्भावना कम
मौसमविद्हरूका अनुसार तत्काल वर्षा र ठूलो हावाहुरी चल्ने सम्भावना छैन । तर, काठमाडौंको तल्लो वायु मण्डलमा थिग्रिएर बसेको प्रदूषण हट्न वर्षा र हावाहुरी आवश्यक छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन अधिकारीका अनुसार हाल उपत्यकामा प्रतिघन्टा तीन नट (६ किलोमिटर) हावा चलिरहेको छ ।
दिउँसो २–३ बजे हल्का हावा चल्ने गरेको छ, जसकारण त्यो समयमा प्रदूषण केही घट्छ (तर, मापदण्डभन्दा धेरै नै हुन्छ) । ‘तर साँझ–बिहान फेरि प्रदूषण धेरै हुने गरेको छ, उपत्यकाको तल्लो वायुमण्डलमा धुलोधुवाँका कण थिग्रिएर बसेका छन्, माथिल्लो तहमा केही हावा चलिरहेको छ, जसले थिचिरहेको छ,’ उनले भने । तत्काल वर्षाको सम्भावना पनि नरहेको उनले बताए ।