महासंघ चुनाव : एसोसिएटमा संघाई अग्रस्थानमा

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा एसोसिएटतर्फ रामचन्द्र संघाई अग्र स्थानमा देखिएका छन् ।एसोसिएटतर्फ उनले ६ सय १३ मत प्राप्त गरेका छन् । यस्तै, अर्का उम्मेदवार अञ्जन श्रेष्ठले भने पाँच सय ७३ मत प्राप्त गरेका छन् । यसैगरी उमेशलाल श्रेष्ठले चार सय २६ मत पाएका छन् । 

एसोसिएटबाट वरिष्ठ उपाध्यक्षमा एक हजार ६ सय ३० मत खसेको थियो, त्यसमा १८ मत बदर भएको छ । एसोसिएटतर्फको मत गणना सम्पन्न भएसँगै जिल्ला–नगरतर्फको मतगणना सुरु भएको छ । त्यसपछि वस्तुगततर्फको मतगणना गरिनेछ । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोहीअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष हुँदै छन् । वरिष्ठ उपाध्यक्षसहित पदका लागि बुधबार चुनाव भएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि भने ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । महासंघमा एसाेसियटतर्फ ३० प्रतिशत, वस्तुगततर्फ २० र जिल्ला–नगरतर्फ ५० प्रतिशत मतभार रहेको छ ।

यदि कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ । कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेमा आजै दोस्रो चरणको निर्वाचन गर्ने योजना छ ।

सुझावित समाचार