नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने भन्दै करिब एक अर्ब ठगी प्रकरणमा थप एक पक्राउ परेका छन्। दाङका सन्देश शर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
शर्माविरुद्ध गत वर्ष नै पक्राउ पुर्जी जारी भए पनि फरार रहँदै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।
सो ठगी प्रकरणमा यसअघि चारजना पक्राउ परिसकेका छन्। मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ यसअघि पक्राउ परिसकेका छन्।
उनीहरूको बयानसमेत भइसकेको छ। बुधबार पक्राउ परेका शर्मालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी डा. मनोज केसीले बताए। शर्मा गिरोहका नाइकेमध्ये एक हुन्।
उनले आफू सो प्रकरणको मध्यस्थकर्ता मात्र भएको र उठाएको पैसा नेतादेखि गृहका अधिकारीलाई बुझाएको बताउने गरेका छन्।
गृह मन्त्रालय तथा केही नेताको आडमा भुटानी शरणार्थीको परिचयपत्र बनाउने भन्दै करिब नौ सयजनालाई ठगी भएको थियो। त्यसमध्ये करिब डेढ सयले प्रहरीमा उजुरी दिइसकेका छन्। तर, ठगीमा सघाउने गृहका अधिकारी तथा नेतालाई जोगाउने गरी मुद्दा कमजोर बनाउन प्रहरी सक्रिय भएको आरोप पीडितको छ।