बजेटका लागि उद्योगीहरूसँग सुझाव संकलन

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरूसँग छलफल गरेको छ । 

नेपाल उद्योग परिसंघले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायहरूमा सुझाव पेस गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानअन्तर्गत मंगलबार अन्तरक्रिया सम्पन्न भएको छ । 

अन्तरक्रियामा नेपाल उद्योग परिसंघका प्रदेश तथा जिल्ला संयोजक समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, संघका पूर्वअध्यक्षहरू, पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्यहरू, उद्योगी एवं तीनवटै संस्थाका सचिवालय कर्मचारीको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा सहभागी उद्योगीले हालको खराब अर्थतन्त्रलाई सुधार्न विशेषगरी राज्य चनाखो हुनुपर्नेमा जोड दिए । रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीका अनुसार उनीहरूले नीतिगत सुधार, भौतिक पूर्वाधार विस्तार र उद्योगीले व्यहोर्नुपरेका झन्झटिला प्रक्रिया, भन्सार, कर नीतिका नकारात्मक प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सन्दर्भमा आ–आफ्ना राय–सुझाव राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका प्रतिनिधि लक्ष्मीप्रसाद सुवेदीले उद्योगीहरूका तमाम समस्यालाई समाधानका उचित उपाय खोज्न, आवश्यक पहल गर्न र राज्यलाई विभिन्न विषयमा सकारात्मक सुझाव दिन परिसंघ लागिपरेको बताए । विशेष गरी भन्सार, कर प्रणाली र नीतिगत विषयमा उद्योगीले उठान गरेका समस्यालाई लिपिबद्ध गरी उच्चस्तरीय बैठकमा प्रस्तुत गर्ने बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, पूर्वअध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटा, प्रथम उपाध्यक्ष, कृष्णप्रसाद पराजुली, महासचिव हरिबहादुर खत्री, उद्योगीहरू रामप्रसाद बस्याल, उपेन्द्र अग्रवाल, मेघराज भण्डारी, देवेन्द्र साहु, शिवप्रसाद खनाल, खिमानन्द, भण्डारी, भुवन गिरीलगायतले आर्थिक क्षेत्रबारे धारणा राखेका थिए । 

See More On

सुझावित समाचार