नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

- बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय निर्धारण
- यदि कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ
- दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेकाे छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको भवनमा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले बताए । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले चन्द्रप्रसाद ढकाल अध्यक्ष हुँदै छन् । वरिष्ठ उपाध्यक्षसहित तलका पदमा उद्यमी–व्यवसायीहरूबीच प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन् । महासंघको ५७औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्न लागेको हो ।

अञ्जनको समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान र एसोसिएट उपाध्यक्षमा भरत आचार्य उम्मेदवार छन् । उमेशलालको समूहबाट जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट उपाध्यक्षमा भरतराज आचार्य उम्मेदवार छन् । भरत आचार्य अञ्जन र उमेशलालका साझा उम्मेदवार हुन् । संघाईको समूहबाट जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैध, वस्तुगत उपाध्यक्षमा सुकन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ उम्मेदवार रहेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ । कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेमा दोस्रो चरणको निर्वाचन ३० चैतमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न गरिने निर्वाचन अधिकृतले बताए ।  

महासंघको पदाधिकारीमा एक अध्यक्ष, निवर्तमान अध्यक्ष, विशिष्ट सदस्य, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ । यस्तै, केन्द्रीय सदस्यमा एसोसिएटबाट १९, जिल्ला–नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । यस्तै, प्रत्येक प्रदेशबाट दुई–दुईजनाका दरले १४ जना केन्द्रीय सदस्य रहनेछन् ।

सुझावित समाचार