बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

बैतडीमा  जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका- ८, झौलेक गाउँनजिक हिजो राति ११ बजेतिर जिप दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र पाँचजना  जिपबाट हाम फालेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से.१ज ७६४ नम्बरको  जिप दुर्घटना भएको हो ।  जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी सुरक्षाकर्मीसहित घटनास्थल पुगेका छन् । मृतक सबै बझाङको केदारस्युँ गाउँपालिका- ५ का बासिन्दा रहेका प्रहरीले जनाएको छ । चालकसहित १२ जना सवार  जिप उकालोमा पछाडि धकेलिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका– ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

सुझावित समाचार