अस्तित्वको संकटमा हुलाक : आम्दानी २८ करोड, खर्च साढे तीन अर्ब

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

५० को दशकदेखि प्रविधिले फड्को मार्दै गए पनि देशको हुलाक सेवा ०१९ सालको ऐन र ०२० को नियमावलीले चलिरहेको छ

सञ्चार र प्रविधिको अभूतपूर्व विकाससँगै खबरहरूको आदान–प्रदानमा भौतिक माध्यमको प्रयोग लगभग अन्त्य भइसकेको छ । चिठीपत्र पठाउने चलन नगन्य छ । जरुरी कागजपत्रको आदान–प्रदान भए पनि त्यसका माध्यम आधुनिक छन् । तर, प्रविधिको विकासले अस्तित्व संकटमा पुगिसकेको हुलाक सेवामा भने ढुकुटीबाट वार्षिक साढे तीन अर्ब खर्च भइरहेको छ । जब कि हुलाकको वार्षिक आम्दानी भने २८ करोड मात्रै छ । 

पहिले चिठीपत्र आदान–प्रदान गरेर आम्दानी गर्ने हुलाक सेवा विभाग अहिले पूर्ण रूपमा सरकारमाथि निर्भर छ । सरकारले बजेट नदिए तलब खानु त पर, कार्यालय सञ्चालनसमेत नहुने स्थिति छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७८/७९ मा कुल खर्च तीन अर्ब ५६ करोड ३६ लाख भएको थियो । तर, आम्दानी भने २७ करोड ७९ लाख मात्र भयो । खर्चको ९० प्रतिशत हिस्सा तलबमै जान्छ ।

हुलाक सेवाअन्तर्गत अहिले १७ हजार कर्मचारी छन् । तर, समयसापेक्ष सेवा दिन नसकेर हुलाक सरकारका लागि ‘सेतोहात्ती’जस्तै बनेको छ । विभागकी महानिर्देशक इन्दु घिमिरेले प्रविधिको विकास हुनुअघिको तुलनामा अहिले काम १० प्रतिशत पनि नरहेको बताइन् । ‘हुलाकका सेवालाई समयसापेक्ष परिष्कृत गर्न सकिएको छैन । दरबन्दी अस्वाभाविक ठूलो छ, काम भने खासै केही छैन,’ उनले भनिन्, ‘अहिले यहाँ काम नहुनु होइन, हुनुचाहिँ अस्वाभाविक छ ।’

विभागको विवरणअनुसार हुलाक सेवाअन्तर्गत अहिले १७ हजार एक सय ५२ दरबन्दी छ । त्यसमा स्थायी दरबन्दी ६ हजार दुई सय ९४ छ । त्यस्तै, तीन हजार ७४ हुलाक प्रतिनिधि, तीन हजार २४ पत्र वितरक र चार हजार सात सय ६० डाँकवाहकसहित अतिरिक्त हुलाकतर्फ १० हजार आठ सय ५८ जना दरबन्दी छ । हुलाक सेवाअन्तर्गत कार्यरतमध्ये दुई हजार पाँच सय ४१ जना त निजामती सेवाकै छन् । 

हुलाक सेवाअन्तर्गत अहिले हुलाक सेवा विभाग र त्यसमातहत गोश्वारा हुलाक कार्यालय, हुलाक प्रशिक्षण केन्द्र, केन्द्रीय धनादेश कार्यालय र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय छन् । त्यस्तै, चार हुलाक निर्देशनालय, ७० जिल्लामा ७० हुलाक कार्यालय, आठ सय ४२ इलाका हुलाक कार्यालय र तीन हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन् । तर, यी अधिकांश कार्यालयबाट चिठी आदान–प्रदान नगन्यजस्तै छ । यी कार्यालय संघीय संरचनाअनुसार पनि छैनन् । 

कर्मचारीको खासै काम नहुने यी कार्यालयका लागि सरकारको खर्च भने निकै ठूलो छ । अतिरिक्त हुलाकतर्फका कर्मचारीका लागि मात्र वार्षिक एक अर्बभन्दा बढी खर्च हुने विभागले जनाएको छ । सातामा दुई दिन दुई घन्टा काम गरेबापत उनीहरूलाई सरकारले मासिक तलब दिन्छ । हुलाक प्रतिनिधिको आठ हजार तीन सय १० र पत्र वितरक तथा डाँकवाहकको मासिक तलब सात हजार दुई सय ८० रुपैयाँ छ । स्थायी सेवामा रहेका कर्मचारीको ५८ वर्षे उमेरहद पनि उनीहरूका हकमा लागू हुँदैन । जसको परिणामस्वरूप बाँचुञ्जेल उनीहरूका नाममा तलब जान्छ । अतिरिक्त हुलाकमा ६० वर्षमाथिकाको संख्या पनि ठूलो छ । 

हुलाक सेवाको विद्यमान दरबन्दी मान्छेले चिठीपत्र बोकेर हिँड्ने हिसाबको छ । जब कि अहिले अधिकांश काम सवारीसाधनबाट हुन्छ । विभागका अनुसार चिठीपत्र, पार्सल इत्यादि ओसार्न हरेक जिल्लामा चारदेखि ६ वटा मोटरसाइकल छन् भने चितवनमा ६ र गोश्वारा हुलाकमा चारवटा ट्रक छन् । यसबाहेक सार्वजनिक यातायातसँग सम्झौता गरेर पनि चिठीपत्र र पार्सलहरू पठाइन्छ । त्यसले पनि अहिलेको दरबन्दी अनावश्यक र अति ठूलो रहेको विभागकै कर्मचारी बताउँछन् ।
 
पहिले चिठीपत्र आदान–प्रदान गरेर आम्दानी गर्ने विभाग अहिले पूर्ण रूपमा सरकारमाथि निर्भर छ । सरकारले बजेट नदिए तलब खाने त परको कुरा, कार्यालय सञ्चालनसमेत नहुने स्थिति छ । विभागको तथ्यांकअनुसार गत आव ०७८/७९ मा कुल खर्च तीन अर्ब ५६ करोड ३६ लाख भएको थियो । तर, आम्दानी २७ करोड ७९ लाख मात्र भयो । विभागअन्तर्गतको खर्चको ९० प्रतिशत हिस्सा तलबमै जान्छ । 

विभागको सबैभन्दा ठूलो स्रोत टिकट बिक्री हो । गत आवमा टिकट बिक्रीबाट २३ करोड ८५ लाख आम्दानी भएको थियो । त्यस्तै, ०७७/७८ मा २० करोड ९१ लाख, ०७६/७७ मा २६ करोड २९ लाख, ०७५/७६ मा ३४ करोड ५७ लाख र आव ०७४/७५ मा ३४ करोड नौ लाख रुपैयाँ टिकट बिक्रीबाट मात्र आम्दानी भएको विभागले जनाएको छ । ०७८ माघमा विभागले हुलाकका सेवाको महसुल बढाएपछि आम्दानीमा केही वृद्धि देखिएको छ । 

तर, खर्च भने हरेक वर्ष तीन अर्बभन्दा बढी हुने गरेको छ । आव ०७७/७८ मा तीन अर्ब २२ करोड ९१ लाख, ०७६/७७ मा तीन अर्ब ३८ करोड ६२ लाख, ०७५/७६ मा दुई अर्ब ९९ करोड ३९ लाख र ०७४/७५ मा तीन अर्ब २१ करोड खर्च भएको देखिन्छ । 

सरकारले यसै बर्ष गठन गरेको हुलाक सुधार कार्यदलका संयोजक शंकरप्रसाद अधिकारीले हुलाकको समयसापेक्ष सुधारका लागि दरबन्दीसहितका संरचनामा पुनर्संरचना गर्नुपर्ने बताए । ‘हुलाकको कार्यबोझअनुसार अहिले दरबन्दी अत्यधिक ठूलो छ । दरबन्दीसहितका संरचनामा पुनर्संरचना गर्नुपर्छ । अतिरिक्त हुलाक पनि खारेज गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अहिले ७७ वटै जिल्लामा राख्नुको साटो केन्द्र पारेर हुलाक कार्यालय २४–२५ जिल्लामा राख्दा हुन्छ । सातामा एउटा पनि चिठी नआउने कार्यालय पनि छन्, त्यस्ता कार्यालय राखेर के काम !’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सुधार समितिका सिफारिसका आधारमा सुधारको तयारी भइरहेको बताए । ‘हुलाकको संरचना र सेवामा सुधारका धेरै विषय छन् । यस विषयमा कार्यदलले सिफारिस पनि गरेको छ । उच्चस्तरीय तलब–सुविधा आयोग पनि बोलेको छ । यी दुवै प्रतिवेदनका आधारमा सुधार गर्नुपर्नेछ,’ उनले भने, ‘अतिरिक्त हुलाकमा कार्यरत ६० वर्ष नाघेकालाई सुविधा दिएर व्यवस्थापन गर्न जरुरी छ । हुलाकका संरचनालाई संघीयतामैत्री पनि बनाउनुपर्ने देखिन्छ । पालिकामा एकभन्दा बढी इलाका हुलाक भए मर्ज भएर एउटै पालिका हुलाक बनाउन सकिन्छ । दरबन्दी पनि ठूलो छ । समिति तथा कार्यदलको सिफारिसका आधारमा सुधारको तयारी भइरहेको छ ।’

के–के गर्छ हुलाकले ? 
अहिले हुलाकले मूलतः टिकट बिक्री, पार्सल, पुस्तक, पत्रपत्रिकालगायतका वस्तु आदान–प्रदान गर्छ । त्यसलाई विभागले ‘रजस्ट्री’, ‘स्मल प्याकेट’, पार्सल, बुक पोस्ट, पत्रपत्रिकाअन्तर्गत राखेको छ । आन्तरिकतर्फ (स्वेदशमा) सन् २०२१ मा १७ लाख ७० हजार चार सय २९, सन् २०२० मा १३ लाख दुई हजार दुई २४, सन् २०१९ मा १२ लाख २६ हजार एक सय ९३, सन् २०१८ मा ५३ लाख २३ हजार सात सय ४९ र सन् २०१७ मा ५४ लाख ४७ हजार पाँच सय ७३ यस्ता वस्तु तथा सेवाको आयात–निर्यात अर्थात् कारोबार गरेको थियो । 

त्यस्तै, बाह्यतर्फ, सन् २०२१ मा १३ लाख ११ हजार दुई सय ८६, सन् २०२० मा १७ लाख २० हजार ६ सय ४८, सन् २०१९ मा १५ लाख १२ हजार तीन सय ९५, सन् २०१८ मा ४० लाख ९१ हजार पाँच सय ९१ र सन् २०१७ मा ५४ लाख ५१ हजार पाँच सय ६३ वस्तु तथा सेवाको आयात–निर्यात अर्थात् कारोबार भएको थियो ।

हुलाकमा १७ हजार १५२ दरबन्दी
हुलाक सेवा विभागको विवरणअनुसार हुलाक सेवाअन्तर्गत अहिले १७ हजार १५२ दरबन्दी छ । त्यसमा स्थायी दरबन्दी ६ हजार २९४ छ । त्यस्तै, तीन हजार ७४ हुलाक प्रतिनिधि, तीन हजार २४ पत्र वितरक र चार हजार ७६० डाँकवाहकसहित अतिरिक्त हुलाकतर्फ १० हजार ८५८ जना दरबन्दी छ । हुलाक सेवाअन्तर्गत कार्यरतमध्ये दुई हजार ५४१ जना त निजामती सेवाकै छन् । अहिले हुलाकले मूलतः टिकट बिक्री, पार्सल, पुस्तक, पत्रपत्रिकालगायतका वस्तु आदान–प्रदान गर्छ । त्यसलाई विभागले ‘रजिस्ट्री’, ‘स्मल प्याकेट’, पार्सल, बुक पोस्ट, पत्रपत्रिका शीर्षकअन्तर्गत राखेको छ ।

हुलाक सुधार गर्न चार वर्षमा दुई समिति 
हुलाक सेवालाई सुधार गर्न र समयसापेक्ष परिष्कृत गर्ने सन्दर्भमा पछिल्ला चार वर्षमा दुई कार्यदल बनिसकेका छन् । तर, सुधारको प्रयत्न भने भएको देखिँदैन । समग्र हुलाक सेवा सुधार गर्ने गरी प्रतिवेदन पेस गर्न सञ्चार मन्त्रालयको ४ भदौ ०७५ को मन्त्रीस्तरीय निर्णयबाट पूर्वसहसचिव राजेन्द्रप्रसाद शर्माको संयोजकत्वमा हुलाक सेवा विभागका महानिर्देशकसहित पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

समितिले सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास र विस्तारले नेपालको हुलाक सेवासामु ठूलो चुनौती मात्र नभएको बरु अस्तित्वको संकट नै देखापरेको ठहर गर्दै सुधारका लागि सरकारलाई सुझाब दिएको थियो । सुधारका क्षेत्रहरू औँल्याउँदै नीतिगत, ऐन–नियम तथा हुलाकसम्बन्धी कानुन, व्यवस्थापकीय, संगठनात्मक स्वरूप, हुलाक सेवाको कार्यप्रणाली, आर्थिक तथा भौतिक सुधार, प्रविधिको प्रयोगमा सुधार, अन्तर्राष्ट्रिय सहयोग र सम्बन्धमा सुधार, जनशक्ति व्यवस्थापन र सेवा विविधीकरण र गुणस्तरमा गर्नुपर्ने सुधारका विषय समितिले औँल्याएको थियो ।

समितिले तत्काल र दीर्घकालमा गर्नुपर्ने सुधारको समयावधिसहितको खाका दिएको थियो । त्यस्तै, यही वर्ष सरकारले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा पूर्वसचिव शारदाप्रसाद त्रितालसहित चार सदस्यीय हुलाक सुधार कार्यदल गठन गरेको थियो । यो समितिले पनि प्रतिवेदन दिएको ६ महिना बितिसकेको छ ।

समितिले हुलाकका विद्यमान संरचना, दरबन्दी र कार्यप्रणालीमा व्यापक सुधार गर्नुपर्ने औँल्याएको छ । अतिरिक्त हुलाक खारेज गर्नुपर्ने, दरबन्दी र संरचना घटाउनुपर्ने तथा संघीय संरचनाअनुसार सेवा व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव यो कार्यदलले दिएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार कार्यदलका सिफारिस कार्यान्वयन गर्ने गरी अघि बढेको बताए ।

See More On

सुझावित समाचार