ढकालले गरे आर्थिक संकट समाधानको रणनीति तय गर्न बृहत् राष्ट्रिय विमर्शको आह्वान

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानका लागि बृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन्। 

महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए।

वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारणसभाबाट महासंघको स्वतः अध्यक्ष बन्दै छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ। 

‘यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ। आर्थिक गतिविधिहरू शिथिल छन्। आपूर्ति प्रणाली खलबलिएको छ। उद्योगी–व्यवसायी समस्यामा छौँ। विकास खर्च अत्यन्त न्यून छ। राजस्वले साधारण खर्चसमेत धान्न सकिरहेको छैन,’ उनले भने, ‘तर, अर्थतन्त्रका सबै सरोकारले वेलैमा विचार पुर्याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन।’

उनले हाम्रोजस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने बताए।

सुझावित समाचार